म्यानमार सरकारले जातीय नरसंहार गरेको भन्दै हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेपछि आङ सान सुकी त्यसतर्फ लागेकी छिन्। रोहिंग्या मुसलमान समुदायको नरसंहार गरेको भन्दै ५७ वटा इस्लामिक देशका तर्फबाट गाम्बियाले अन्तर्राष्ट्रिय अदालतमा एक महिनाअघि मुद्दा हालेको थियो।
उक्त मुद्दाको सुनुवाई यही डिसेम्बर १० देखि १२ सम्म हुँदैछ।
सुकी हेगतर्फ प्रस्थान गर्ने क्रममा न्यापितस्थित अन्तर्राष्ट्रिय विमानस्थमाल मुस्कुराउँदै प्रवेश गरेकी थिइन्। उनका साथै म्यानमारका अन्य पदाधिकारीपनि हेग जानेछन्। शनिबार हजारौं मानिसले उनका नाममा प्रार्थना गरेका थिए।
तीन दिनको सुनुवाइका क्रममा न्यायाधीशको १६ सदस्यीय बेन्चले रोहिंग्या समुदायको रक्षाका लागि केही मापदण्ड लागू गर्न निर्देशन दिन सक्नेछ। यो मुद्दा पूर्ण सुनुवाइमा पनि जान सक्नेछ।
सन् २०१७ मा भएको सेनाको कारबाहीका क्रममा करिब साढे ७ लाख रोहिंग्या म्यानमार छाडेर भागेका थिए। राष्ट्रसंघले पनि उक्त घटना जातीय नरसंहार भएको प्रतिवेदन दिएको थियो भने सुरक्षा परिषद्ले उक्त दमन आइसीसीबाट अनुसन्धान गराउनुपर्ने सुझाव दिएको थियो। तर म्यानमार सरकारले भने उक्त कारबाही नागरिकमाथि नभई रोहिंग्या लडाकूविरुद्धको भनी बचाउ गर्दै आएको छ।