फ्रान्समा पेन्सन सुधारविरुद्ध सुरु भएको देशव्यापी आमहडतालले जनजीवन प्रभावित भएको छ। हडतालबाट स्कुल र कार्यालयको कामकाज प्रभावित भएको छ भने यातायात सेवा ठप्प छ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ। हालसम्म ८७ जनालाई हिरासतमा लिइएको जनाइएको छ। फ्रान्समा कर्मचारीहरुले पेन्सन योजनामा प्रस्तावित सुधारप्रति असहमति जनाएका छन्ु। नयाँ प्रस्तावमा अवकाशको उमेर बढाइएको छ भने समयअघि नै अवकाश लिनेलाई कम पैसा दिइने उल्लेख छ।
पेन्सन सुधारविरुद्धको हडतालमा शिक्षक र यातायात कर्मचारीलाई प्रहरी, वकिल, अस्पतालका कर्मचारी, विमानस्थलका कर्मचारीलगायत कर्मचारीले साथ दिएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्राें हालको पेन्सन प्रणालीको स्थानमा युनिभर्सल प्वाइन्ट बेस्ड प्रणाली सुरु गर्ने योजनामा छन्। हाल फ्रान्समा निजी र सार्वजनिक क्षेत्रका कर्मचारीका लागि ४२ अलग–अलग पेन्सन योजना लागू छ। यसमा अवकाशको उमेर पनि अलग–अलग छ।
कर्मचारी युनियनमा आबद्ध क्रिस्टियन ग्रोलियरले विरोधअन्तर्गत देशकै अर्थ व्यवस्था ठप्प गरिने बताएका छन्। राष्ट्रपति बनेपछि म्याक्रों अर्थव्यवस्थाको सुधारका लागि प्रयासरत छन्। उनले व्यापारका लागि लगाइएको करमा पनि कटौति गरेका छन्।
फ्रान्सका ४० सहरमा यो आन्दोलन चलिरहेको छ। मजदूर युनियनसम्बद्ध एक संस्थाका अनुसार पेरिसमा मात्रै साढे २ लाख प्रदर्शनमा उत्रिएका थिए।