इराकमा प्रदर्शनकारी समूहले नजफ सहरमा रहेको इरानी वाणिज्य दूतावासमा आगजनी गरेको छ । इराकको आन्तरिक मामिलामा हस्तक्षेप गरी इराकी सरकारको समर्थन गरेको आरोप लगाउँदै प्रदर्शनकारीको समूहले आगजनी गरेको हो ।
प्रदर्शन सुरु हुनुअघि नै त्यहाँ कार्यरत कर्मचारीहरु बाहिर निस्किसकेको हुँदा आगजनीबाट मानविय क्षति भने हुन नपाएको बीबीसीले जनाएको छ । यसै महिना इरानी वाणिज्य दूतावासमा गरिएको यो दोस्रो आक्रमण हो । यसअघि करबलामा पनि यस्तै प्रकृतिको आक्रमण भएको थियो ।
इराकमा कैयौं दिनदेखि सरकार विरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारी ‘इराकबाट बाहिर जाऊ इरान’ को नारा लगाउँदै आएका छन् । दुई महिनादेखि जारी प्रदर्शन र हिंसाका कारण इराकमा ३ सय ४४ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनका दक्षिणी इराक र राजधानी बग्दाद बढी प्रभावित छ ।