लागूऔषध ओसारपसार र नियोजित अपराधबारे किताब लेखेका अमेरिकी विश्वविद्यालयका एक प्राध्यापकलाई नै कालो धनबाट २५ लाख डलर कमाएको आरोप लागेको छ।
प्राध्यापक ब्रुस बागलेले भेनेजुएलाबाट ल्याइएको कालो धन स्वीट्जरल्याण्ड र यूएईमा रहेका ब्याङ्क खाताबाट प्राप्त गरेको दाबी गरिएको छ।
चार वर्षअघि उनले ड्रग ट्राफिकिङ अर्गनाइज्ड क्राइम एन्ड भायोलेन्स इन द अमेरिकाज टुडे भन्ने पुस्तकको सहलेखन गरेका थिए । उक्त पुस्तकमा कालो धनको ओसारपसारका गतिविधिबारे उल्लेख छ।
इन्टरनेशनल स्टडिजका प्राध्यापक बागलेले भने आरोप अस्वीकार गरेका छन्। आफूलाई आरोप लगाउनेहरुले गलत बुझेको उनको भनाइ छ।
न्यूयोर्कका अधिकारीहरूले बागलेले फ्लोरिडा ब्याङ्कमा आफ्नो श्रीमतीको साथमा एउटा खाता खोलेको आरोप लगाएका छन्।
सन् २०१७ को नोभेम्बरदेखि उक्त खातामा यूएईमा रहेको कोलम्बियाली नागरिकको नियन्त्रणमा रहेको खाद्य कम्पनीबाट पैसा आउन थालेको थियो।
ती कोलम्बियाली नागरिकको नाम र भेनेजुएलाबाट पैसा आउने प्रक्रिया भने खुलाइएको छैन। बागलेको पुस्तकमा कालो धन ओसारपसार कसरी हुन्छ भन्ने प्रक्रिया निकै जटिल रहेको उल्लेख गरेका छन्।
यो मुद्दा भेनेजुएलामा हुने भ्रष्टाचारको रकम अमेरिकी वित्तीय प्रणालीको प्रयोग गरेर कसरी ओसारपसार हुन्छ र अमेरिकी कानून कहाँ दुरुपयोग हुन्छ भन्ने बुझ्ने प्रयत्नको एक अंश रहेको बताइएको छ। प्राध्यापक बागलेलाई कालो धनसम्बन्धी तीन आरोप लगाइएको छ र ती प्रत्येक आरोप प्रमाणित भएका अधिकतम २० वर्षको जेल सजाय हुनसक्ने व्यवस्था छ।
मायामी सङ्घीय अदालतमा उपस्थित भएर उनी तीन लाख अमेरिकी डलर धरौटीमा छुटेका छन्।
प्राध्यापन बाहेक उनले अदालतमा उपस्थित भएर विभिन्न मुद्दामा विज्ञको रूपमा काम गरेका छन्। त्यसैगरी अमेरिकी कङ्ग्रेसको सिनेट कमिटिहरूमा पनि विज्ञका रूपमा उनले बयान दिएका छन्।