भारत असमको सिल्चरस्थित एउटा वेश्यालयबाट ७ नेपाली युवतीलाई स्थानीय प्रहरीले उद्धार गरेको छ। ‘लेन १४’ नामले चिनिने उक्त वेश्यालयबाट नेपाली युवतीलाई उद्धार गरिएको हो।
गैरसरकारी संस्था शक्ति समूहले स्थानीय काचर प्रहरीको सहयोगमा सोमबार साँझ छापा मारी ती युवतीलाई उद्धार गरेको हो। शक्ति समूहका कानुनी तथा तालिम सल्लाहकार दिलीप कोइरालाले उद्दार गरिएकामध्ये ४ बालिका र ३ जना २० वर्षभन्दा कम उमेरका रहेको बताए। गत जुलाई १४ मा एक बालिकालाई उद्धार गरिएपछि उनैको जानकारीका आधारमा थप ७ जनालाई उद्धार गर्न सफल भएको बताइएको छ।
ती बालिकालाई वेश्यावृत्तिमा लगाउने लक्ष्मी तामाङ नाम गरेकी नेपाली महिलालाई पनि पक्राउ गरिएको कोइरालाले बताए। उनीविरुद्ध स्थानीय प्रहरीमा मुद्दा दर्ता गरिएको छ। ती बालिकाहरुलाई राम्रो जीवन जिउने र असल पतिसँग बिहे गर्ने लोभ देखाउँदै भारतको आगराबाट त्यहाँ ल्याइएको थियो।
उद्धारबारे नेपाली दूतावासलाई जानकारी दिइसकिएको र मंगलबार सिल्चर अदालतमा प्रस्तुत गरिएपछि नेपाल फर्काउने कोइरालाले बताए।