अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी आसपासका क्षेत्रमा लागेको डढेलोका कारण बाक्लो धुवाँले छोपिएको छ। आगलागी भएको उत्तरतर्फको क्षेत्रवाट आएको धुवाँले सिड्नीको वायु प्रदुषणको मात्रा खराब स्तरमा पुगेको हो।
सिड्नीका केही भागहरूको वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको न्यूनतमभन्दा आठ गुणासम्म धेरै भएको मापन गरिएको छ। स्वास्थ्यकर्मीहरुले मानिसहरूलाई घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक रूपमा बल पर्ने कामहरू नगर्न सुझाव दिएका छन्। वोलेमी राष्ट्रिय निकुञ्जमा एक लाख ५० हजार हेक्टरमा फैलिएको डढेलोको धुवाँ सिड्नी पुगेको हो।
धुवाँ अझै केही दिनसम्म रहने बताइएको छ। न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीमा करिब ५० लाख मानिसको बसोबास रहेको छ। सो राज्यको उत्तरी क्षेत्रमा हप्तौँदेखि फैलिएको डढेलोका कारण छजना मानिसहरूको मृत्यु भइसकेको छ। सयौं घरमा क्षति पुगेको छ। सिड्नीको उत्तरतर्फका भागहरूमा झन्डै ५० स्थानमा डढेलो फैलिएको छ।
यो हप्ता डढेलो अझै बढ्न सक्ने अनुमान गरिएको छ। साउथ अस्ट्रेलिया राज्यले भने आगोबाट ’विनाशकारी’ खतरा आउन सक्ने भन्दै चेतावनी दिएको छ।