पूर्व क्रिकेटर एवं भाजपा सांसद गौतम गम्भरि दिल्लीको प्रदूषणसम्बन्धमा बोलाइएको बैठकमा सहभागी नभएपछि निरन्तर आलोचनाको सामना गरिरहेका छन्। आइतबार दिल्लीमा गौतम गम्भीर बेपत्ता भएको पोस्टर टाँसिएको छ। ती पोस्टरमा लेखिएको छ– के यस व्यक्तिलाई तपाईंले कतै देख्नुभएको छ? अन्तिमपटक इन्दौरमा जेरी खाइरहेको देखिएको थियो। पूरै दिल्ली यिनलाई खोजिरहेको छ।’
गम्भीर गत साता इन्दौरमा आयोजित टेस्ट म्याचमा कमेन्ट्रीका लागि पुगेका थए। शुक्रबार भीभीएस लक्ष्मणले जतिन सप्रु र गम्भीरका साथ जेरी खाइरहेको तस्बिर ट्वीट गरेका थिए। त्यसपछि गम्भीरमाथि ट्रोलभयो। अन्य विपक्षीले समेत गम्भीरको आलोचना गरे।
विवाद बढेपछि गम्भीरले ट्वीट गर्दै भनेका छन्– यदि मलाई गाली दिँदा दिल्लीको प्रदूषण कम हुन्छ भने मलाई मनलागेजति गाली गर्नुहोला। मेरो संसदीय क्षेत्र र सहरप्रतिको प्रतिबद्धतालाई त्यहाँ भइरहेको कामसँग तुलना गनुपर्छ, मैले विगत ६ महनामा मतदातालाई उत्कृष्ट काम दिन कुनै कसर छाडेको छैन।’ उनले आफ्नो कार्यकालका दौरान गरिएका कामको विवरण पनि ट्वीटरमा सार्वजनिक गरेका छन्।
प्रदूषणका विषयमा जनप्रतिनिधि र सरकारी कार्यालयका अधिकारीबीच १५ नोभेम्बरमा बैठक तय गरिएका थियो। जसमा गम्भीरसमेत २५ जनालाई आमन्त्रण गरिएको थियो। तर बैठकमा ४ सदस्यमात्र पुगेपछि स्थगित गरिएको थियो । दिल्लीमा सरकारको नेतृत्व गरिरहेको आम जनता पार्टीले यो अनुपस्थितिलाई सर्वोच्च अदालतको निर्देशनको अपहेलना भएको बताएको छ। सर्वोच्चले प्रदूषण समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको थियो।