इटलीमा बाढीका कारण भेनिस सहर नै डुबेपछि सरकारले संकटकाल घोषणा गरेको छ। समुद्रको पानी सहरमा पसेपछि ६ फिटसम्म पानी भरिएको छ। बाढीका कारण भ्यासिलिकासहित सहरका चर्चित स्थान डुबानमा परेका छन्। बाढीपछि बसेको मन्त्रिपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो।
बाढीका कारण सहरमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। इटलीका प्रधानमन्त्री जुजेपे कम्टेले बाढीबाट आफू मर्माहत भएको जनाउँदै संकटकाल घोषणापछि उद्दार तथा सहयोगका लागि सरकार तीब्र रुपमा काम गरिरहेको बताएका छन्।
प्रधानमन्त्रीले बाढीको खतराबाट सहरलाई जोगाउन सरकारले काम गरिरहेको र आगामी दिनमा उत्पन्न हुने संकटको समाधानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। उनले समुद्रको लहर आउँदा गेट बन्द गर्ने योजना ल्याउने पनि संकेत गरेका छन्।
सरकारले बाढीबाट प्रभावित व्यक्तिलाई क्षतिपूर्तिस्वरुप प्रतिव्यक्ति ५ हजार यूरो तथा व्यवसायीलाई २० हजार यूरोसम्म दाबी गर्न सक्ने जनाएको छ। सहरको ८० प्रतिशत भाग युनेस्कोको विश्वसम्पदा सूचीमा राखिएको छ, जसका कारण यहाँ लाखौं मानिस घुम्न आउने गर्छन्। बाढीका कारण संग्रहालयहरु बन्द राख्ने सरकारले जनाएको छ।
मेयर लुइगी ब्रुगनारोका अनुसार ५० वर्षयता पहिलोपटक बाढीको संकट आएको हो । यसअघि सन् १९२३ मा आएको बाढीका कारण यस्तै स्थिति उत्पन्न भएको थियो। त्यतिखेर समुद्रको लहर १.९४ मिटरसम्म आएको थियो।