तेल निर्यातक प्रमुख मुलुक इरानमा एक विशाल तेल भन्डार भेटिएको छ। इरानका इन्जिनियरहरुले उक्त तेल भन्डार पत्ता लगाएको इरानी राष्ट्रपति हसन रुहानीले घोषणा गरेका हुन्।
उक्त भण्डारमा करिब ५३ अर्ब ब्यारेल तेल भएको अनुमान गरिएको छ। चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानका लागि यो एउटा सुखद खबर रहेको राष्ट्रपतिको दाबी छ।
दक्षिण–पश्चिम इरानको २४ सय वर्गकिलोमीटर क्षेत्रमा फैलिएको यो विशाल तेल भन्डारले इरानलाई अझैं आर्थिकरुपमा बलियो बनाउने अनुमान गरिएको छ।
६५ अर्ब ब्यारेल क्षमताको अहवाज तेल भन्डारपछि खुजेस्तानमा भेटिएको यो तेल क्षेत्र अर्को ठूलो भन्डार हुनेछ।
तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) को इरान संस्थापक राष्ट्र हो। इरानसँग अहिले नै १५५ दशमलव ६ अर्ब ब्यारेल क्षमताको तेल भन्डार छ। नयाँ खोजपछि अब इरानसँगमात्रै विश्वको ३४ प्रतिशत तेल हुनेछ। इरान विश्वको चौथो ठूलो तेल भएको राष्ट्र हो भने विश्वको दोस्रो ग्याँसको धनी राष्ट्र हो।