भारतीय कंग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले सरदार बल्लभभाइ पटेलको जन्मजयन्तीका अवसरमा बीजेपी (भाजपा) को 'रन फर युनिटी' को विषयमा ट्विट गरेकी छन् । ट्विटमार्फत उनले भनेकी छन्, 'कि सरदार पटेल राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) को विरुद्धमा थिए ।' प्रियंकाले ट्विटबाटै भनेकी छन्, 'पटेल जवाहरलाल नेहरूको नजिक थिए तर आरएसएसको पूर्ण विरोधी थिए ।'
'सरदार पटेल कंग्रेसका निष्ठावान् नेता थिए, जो कंग्रेसको विचारधाराप्रति समर्पित पनि थिए । उनी जवाहरलाल नेहरूका नजिकका साथी तथा आरएसएसका घोर विरोधी थिए । अहिले भाजपाले उनलाई अपनाउने कोसिस गरिरहेको र उनलाई श्रद्धाञ्जली दिएको देख्दा निकै खुसी लाग्छ,' प्रियंकाले पटेलको जन्मजयन्तीका अवसरमा गरेको ट्विटमा उल्लेख छ ।
प्रियंकाले दोस्रो ट्विटमै लेखेकी छन्, 'किनभने भाजपाको यस्तो अवस्थाबाट दुई कुरा स्पष्ट हुन्छ'
१. उनका (भाजपा) को आफ्नो कोही पनि स्वतन्त्र सेनानी महापुरुष छैनन् । लगभग सबै कंग्रेससँगै जोडिएका थिए ।
२. सरदार पटेलजस्ता महापुरुषलाई एक न एक दिन उनका शत्रुले पनि शिर झुकाउनै (नमन गर्नै) पर्छ ।
सन् २०१४ बाट ३१ अक्टुबरका दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिन्छ । र यो दिनमा सर्वसाधारण 'रन फर युनिटी' मा सहभागी हुन्छन् । पटेलको १४४औं जयन्तीका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको केवडियामा रहेको स्ट्याचु अफ युनिटीमा पुगेर श्रद्धाञ्जली दिएका छन् । त्यसबखत मोदीले अझै पनि सरदार पटेलका एक-एक शब्द निकै महत्त्वपूर्ण रहेको स्मरण गरे । उनले यो प्रतिमा एकताको प्रतिक रहेको समेत बताएका थिए ।