जापानका सम्राट नारुहितोले एक भव्य समारोहबीच राजगद्दी आरोहण गरेका छन् । उनका पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो गत मेमा जापानको सम्राट बनेका थिए ।
पूर्वसम्राट अकिहितो पनि आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित थिए । विभिन्न परम्परागत विधि सम्पन्न भएपछि बल्ल उनले औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन् । जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको बीबीसीले समाचारमा जनाएको छ । हगिबिसका कारण जापानमा झन्डै ८० जनाको मृत्यु भएको थियो ।
सम्राटहरूले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे ६ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बसेका थिए । त्यहाँबाट उनले एउटा लिखित मन्तव्य वाचन गरे । 'राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिन्छु,' समाचार संस्था रोएटर्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको सँगै रहेको अर्को आसनमा बसेकी थिइन् । उनले १२ पत्र भएको वस्त्र लगाएको बताइन्छ । प्रधानमन्त्री सिन्जो आबेले सम्राटलाई बधाई ज्ञापन गर्दै सम्बोधन गरेका थिए । त्यसपछि उनको नेतृत्वमा उपस्थित मानिसहरूले 'बान्जाई !' अर्थात् 'सम्राट चिरायु रहून् !' भन्दै नारा लगाएका थिए ।
उक्त विशेष समारोहमा जापानको राजकीय शक्तिको संकेतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो । उक्त समारोहमा यूकेका राजकुमार चार्ल्स तथा अन्य गन्यमान्य व्यक्ति पनि उपस्थित छन् । नेपालकी राष्ट्रपति विद्या भण्डारी पनि जापानी सम्राटको राजगद्दी आरोहण समारोहमा सहभागी हुन जापान गएकी छन् । सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गर्दै छन् । जापानमा संवैधानिक राजतन्त्र छ । सम्राटको भूमिका भने प्राय: आलंकारिक हुन्छ । -बीबीसीबाट