फिलिपिन्समा पछिल्ला केही बर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारबाही भएको अधिकारीहरुले जनाएका छन्।
फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार १ सय ७२ जना प्रहरीलाई कारबाही गरिएको जनाएको हो। कारबाहीमा परेका प्रहरीको संख्या कुल प्रहरीको संख्याको ४.७ प्रतिशत रहेको पनि प्रहरी उच्च अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।
कार्यवाहक प्रहरी प्रमुखले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार खराब तथा भ्रष्ट प्रवृत्तिका कारण ती प्रहरीहरू कारबाहीमा परेका हुन्। प्रहरीका लेफ्टिनेन्ट जनरल फ्रान्सीस्को गाम्बोआले कारबाहीमा परेकामध्ये दुई हजार ८०६ जनालाई सेवाबाटै निस्कासन गरिएको जानकारी दिए।
त्यसैगरी अरु ५३५ जनलाई घटुवा गरिएको, ४७ सय २१ जनालाई निलम्बन गरिएको, ७ सय ६२ जनालाई नसियत दिइएको, ६० जनालाई चार महिनाका लागि निस्कासन गरिएको, २०८ जनाको तलब रोक्का गरिएको र ८० जनालाई अधिकारबिहीन गराइएको छ।
निस्कासनमा परेकामध्ये केही प्रहरी लागुऔषधको कारोबारमा संलग्न भएको पाइएको गोम्बोआले जानकारी दिए। उनका अनुसार सन् २०१९ को नौ महिनामा मात्रै २२ सय ८६ जना यसैखालका कारबाही भएका छन्।
फिलिपिन्समा सरकारले लागूऔषध विरुद्धको कारबाही अभियानलाई तीव्रता दिइरहेको छ भने त्यसमा संलग्न देखिएका प्रहरी तथा अन्य सरकारी अधिकारीहरू पनि कारबाहीमा परेका हुन्। यस्तो कारबाही अभियान निरन्तर रहेको अधिकारीहरूले जनाएका छन्।