भारतको महाराष्ट्र र हरियाणामा विधान सभा चुनावका लागि आज मतदान भइरहेको छ। महाराष्ट्रको २८८ र हरियाणाको ९० सिटका लागि आज मतदान भएको हो । उत्तर प्रदेशको ११ सिटमा पनि उपचुनाव भइरहेको छ। कूल १७ राज्य र केन्द्रशासित प्रदेशमा ५३ सिटमा उपचुनाव भइरहेको छ।
महाराष्ट्रमा भारतीय जनता पार्टी र शिव सेनाले गठबन्धन बनाएका छन्। भाजपाले १५० सिट र शिव सेनाले १२४ सिटमा चुनाव लडेका छन्। बाँकी सिट एनडीएका साना दललाई दिइएको छ। यहाँ कांग्रेस १४६ र राष्ट्रिय समाजवादी पार्टी ११७ सिटमा चुनाव लडिरहेको छ।
महाराष्ट्र विधान सभाको कार्यकाल आगामी ९ नोभेम्बरमा र हरियाण विधान सभाको कार्यकाल यही अक्टुबर २४ मा सकिँदैछ।
भारतीय निर्वाचन आयोगका अनुसार महाराष्ट्रमा कुल ९५ हजार ४ सय ७३ मतदान केन्द्र तोकिएको छ भने ८ करोड ९५ लाख मतदाता छन्। हरियाणामा १९ हजार ४ सय २५ मतदान केन्द्र बनाइएको छ भने मतदाना १ करोड ८२ लाख छन्।