भारत–पाकिस्तानबीच गएराति भएको लडाइँमा नेपाली मुलका २ जना भारतीय सैनिकको ज्यान गएको छ। पदमबहादुर श्रेष्ठ र गामिलकुमार श्रेष्ठ नामका ती सैनिकहरुको मृत्यु भए पनि कुन ठाउँका भन्ने केही खुलाइएको छैन।
गएराति पाकिस्तान नियन्त्रित कश्मीर (पीओके)मा भारतीय सेनाले आक्रमण गरेको थियो। पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो। पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिलकुमार श्रेष्ठको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। उनीहरुको ठेगाना नखुले पनि उनीहरु गोर्खा रेजिमेन्टका हुन सक्ने आंकलन गरिएको छ।
यस्तै ५५ वर्षीय मोहम्मद सादिक नामका एक सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। घटनापछि भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादीहरुको घुसपैठ गराएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। तर पाकिस्तानी सेनाले भने भारतले विनाकारण जुरा, शाहकोट र नौशेरी क्षेत्रमा युद्धविराम उल्लंघन गरेर सर्वसाधारण नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन्।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले उनले जवाफी कारबाहीमा भारतीय सेनाका ९ जना मारिएको दाबी गरेका छन्। भारतीय सेना सेना प्रमुख विपिन रावतले एक जना पाकिस्तानी सेना र तीन जना सर्वसाधारण नागरिकको मृत्यु भएको बताएका छन्। यस्तै पाकिस्तानी सेनाका दुई जवान र सर्वसाधारण नागरिक तीन जना घाइते भएको पनि उनले बताए। एजेन्सी।