यतिखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिठी विश्वव्यापी चर्चामा छन्। कारण हो उनको पठाएको चिठी टर्कीका राष्ट्रपति रेसेस तायिप इर्दोगानले रद्दीको टोकरीमा फालिदिनु। आाखिर के त्यस्तो कुरा थियो, जसका कारण टर्कीका राष्ट्रपति त्यतिविघ्न रिसाए?
सिरियाबाट अमेरिकी फौज फिर्ताको घोषणापछि ट्रम्पले ९ अक्टुबरमा इर्दोगानलाई सरकारी चिठी लेखे। त्यसमा भनिएको थियो– बढी कडा नबन्नु, बेवकुफी नगर्नु।
ट्रम्पले यो चिठी उत्तरी सिरियाविरुद्ध जारी कुर्दिस फौजविरुद्धको कारबाही रोक्न आग्रह गर्दै पठाएका थिए। तर बीबीसीका अनुसार इर्दोगानले उक्त चिठीलाई रद्धीको टोकरीमा फालिदिए र आक्रमणको आदेश दिए।
ट्रम्पको उक्त चिठी सबैभन्दा पहिले अमेरिकी च्यानल फक्स न्युजले सार्वजनिक गरेको थियो। त्यसमा भनिएको थियो–आउनुस् एउटा असल सम्झौता गरौं, तपाईं हजारौं मानिस मारिएकोमा जिम्मेवार हुन चाहनुहुन्न र म टर्कीको अर्थव्यवस्था तहसनहस गर्नमा जिम्मेवार हुुन चाहन्न, इतिहासले तपाईंलाई उदार रुपमा हेर्नेछ, यदि तपाईंले अवस्थालाई सही र मानवीय रुपमा सम्हाल्नुभयो भने। तर यदि राम्रो भएन भने उनीहरुले तपाईंलाई एक दानवको रुपमा हेर्नेछन्, त्यसैले कडा पनि नबन्नुस् र बेवकुफी पनि नबन्नुस्। म तपाईंलाई पछि फोन गर्नेछु।’
यो चिठी पाएपछि इर्दोगानले तत्कालै रद्दीको टोकरीमा फ्याँकिदिएको बताइएको छ। र, सोहीदिन टर्कीले उत्तरी सिरियामा कुर्द फौजविरुद्ध आक्रमण गरेको थियो।
बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेन भन्छन्– एक राष्ट्रपतिले यसरी चिठी लेख्छन् भनेर कल्पना पनि गर्न सकिदैंन।