जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मंगलबार दिएको जानकारीअनुसार मृत्यु हुने अझै बढ्न सक्ने आशंका गरिएको छ ।
आँधीबाट विद्युतीय लाइनमा आएको अवरोधका कारण धेरै क्षेत्रलाई असर गरिरहेको छ । आँधीले बढी प्रभावित चिवा प्रान्तमा १८ हजार घर बिजुलीविहीन छन् भने नागानो प्रान्तका १२ हजार घरमा बिजुली छैन । यहाँको विद्युत आपूर्तिका लागि अझै एक साता बढी समय लाग्ने एजेन्सीहरुले जनाएका छन् । यस्तै १३ वटा प्रान्तको १ लाख ३३ हजार घरमा पानी आपूर्ति पनि रोकिएको समाचार एजेन्सी सिन्ह्वाले समाचारमा उल्लेख गरेको छ ।
विनाशकारी आँधीपछि अझै पनि धेरै सर्वसाधारण बेपत्ता छन् । उनीहरुको खोजी तथा उद्धारका लागि सेना परिचालन गरिएको छ ।
शनिबार साँझ ७ बजे जापानको होन्सु द्वीपमा प्रवेश गरेको हागिबिस आँधी प्रतिघण्टा २१६ किमिभन्दा बढीको वेगमा आएको थियो । जसलाई निकै शक्तिशाली मान्न सकिन्छ ।