पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सोमबार ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि केही दिनअगाडि पाकिस्तान नियन्त्रित काश्मीर र देशका अन्य भागमा गएको शक्तिशाली भूकम्पमा परी ४० जनाको मृत्यु भएको थियो ।
पाकिस्तानको मौसम विभागले अफगानिस्तानको हिन्दुकुश पहाडलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको पुष्टि गरेको छ । भूकम्प पृथ्वीको सतहदेखि १ सय ५७ किमि तल गएको बताइएको नवभारत टाइम्सले समाचारमा उल्लेख गरेको छ ।
पाकिस्तानको प्रान्तिय आपदा प्रबन्धन प्राधिकारणका प्रवक्ता तैमुर अलीले पेशावर, मालाकन्द, मरदान, चरसद्दा, स्वात र हजारा क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको बताए । उनले अहिलेसम्म भूकम्पका कारण प्रान्तमा भएको क्षतिको कुनै विवरण प्राप्त नभएको पनि बताए ।