पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा गएका छन्।
तीनदिने भ्रमणका क्रममा प्रधानमन्त्री खानले चीनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्ने छन्। भेटवार्तामा कश्मीर मुद्दाका विषयमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतले कश्मीरको छुट्टै राज्यको अधिकार संविधानबाट खारेज गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय साथ खोजिरहेको छ। यसअघि प्रधानमन्त्री खानले कश्मीर मुद्दाको विषय संयुक्त राष्ट्रसंघको महासभामा पनि उठाएका थिए।
खानकाे याे भ्रमणमा चीन-पाकिस्तान आर्थिक करिडोर परियोजनाबारे मुख्य छलफल हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ राष्ट्रपति सि नेपाल र भारत भ्रमण आउनुअघि पाकिस्तानी प्रधानमन्त्री खान बेइजिङ जानुलाई महत्वका साथ हेरिएको छ।