महात्मा गान्धीको जिन्दगीको एउटा पाटो उनको मजाक गर्ने बानी थियो। उनी भन्थे– ‘यदि मसँग सेन्स अफ ह्युमर थिएन, मजाक गर्न सक्दिनथें भने आत्महत्या गरिसकेको हुने थिएँ।’
उनी ठान्थे– कामको अत्यन्त बोझमा डुब्नु मरेसरह हो। यसैले उनी अक्सर मानिसलाई हसाँइरहन्थे, मौका मिल्दा आफूपनि हाँस्थे।
उनीबारेको एउटा किस्सा छ। एकपटक एक अंग्रेज रिपोर्टरले उनलाई सोध्यो– तपाईं तेस्रो दर्जा (रेलको) मा किन यात्रा गर्नुहुन्छ?
उनले जवाफ दिए– सजिलो छ, यसकारण कि म चौथो दर्जा नहोस् भनेर।
अर्को किस्सा छ, लण्डनस्थित बकिङघम दरबारमा राजा जर्ज पन्चमसँगको भेटवार्ताको।
जब गान्धी गोलमेच सम्मेलनमा सहभागी हुन लण्डन गएका थिए, उनी आफ्नो धोति र लंगोटीमै दरबार गए।
यसलाई लिएर मानिसहरु बेखुश भए। उनीले सोचे– गान्धीले राम्रो कपडा लगाएर आउनुपथ्र्यो।
यसको जवाफमा उनले भने– मैले कपडा किन लगाउनुपर्यो र? जति कपडा तपाईंको राजाको शरीरमा छ, त्यो हामी दुईका लागि काफी छ।
अर्को किस्सा छ, गान्धीले गम्भीर स्थितिलाई कसरी हल्का बनाउन सक्थे भनेर।
सन् १९१० को कुरा हो। त्यतिबेला गान्धी जोहानेसवर्ग, दक्षिण अफ्रिकामा थिए। त्यहाँको सरकार हरेक दिन नयाँ नयाँ निर्देशन जारी गथ्र्यो। त्यसैक्रममा एउटा नियमको निर्देशन आयो। जसमा भनिएको थियो– जसको बिहे दक्षिण अफ्रिकामा भएको होइन, उनलाई दर्ता गर्न सकिन्न र पत्नी पनि मान्न सकिन्न।
यसबाट लाखौं भारतीय मुलका मानिस प्रभावित हुने सम्भावना थियो।
गान्धी घर फर्किए र पत्नी कस्तुरबालाई बोलाउँदै भने– तिमी आजदेखि मेरो रखैल भयौं।
कस्तुरबाले आश्चर्यपूर्वक भनिन्– के भयो? मेरो बिहे भएको हो, तपाईं यसरी किन कुरा गर्दै हुनुहुन्छ?
गान्धीले भने– सरकारले कानुन बनाइदियो, अब हाम्रो बिहे मान्य हुँदैन भनेर। यदि तिमी मसँग रहन्छ्यौं भने रखैल हुनेछ्यौ।
यो कुरा सबैतिर फैलियो। अनि दक्षिण अफ्रिकामा रहेका भारतीय संगठित भए। पहिलोपटक दक्षिण अफ्रिकामा महिला र बालबच्चासमेत घरबाट बाहिर निस्किए र उनीहरुले ६ माइल लामो जुलुस निस्कियो। अनि सरकारले यो कानुन फिर्ता लिन बाध्य भयो।
उनको अर्को किस्सा छ। उनी भारत फर्किसकेका थिए। मानिसहरुले भने– मुसलमान आन्दोलनमा भाग लिनै चाहँदैनन्। हामीले कति सम्झायौं हिन्दुस्तान तपाईंहरुको पनि देश हो, तर उनीहरु कुरै सुन्न चाँहदैनन्।
गान्धीले ती मानिससँग भने– यदि तिमी लौरो लिएर कुनै युवतीकहाँ गयौं र मसँग प्रेम गछ्र्यौं भनेर सोध्यौ भने के गर्लिन्, तिमीलाई लखेट्नेछिन्।
‘यदि कसैसँग कुरा गरिरहेका छौ भने नरमसँग, आफ्नो स्वभावमा, आफनो शब्दमा र आफ्नो आवाजमा राम्रोसँग कुरा गर, उनीहरुले नसुन्ने प्रश्नै उठ्दैन। सबैले सुुन्नेछन्, हिन्दुस्तान स्वतन्त्र हुनेछ,’ उनले आफ्ना समर्थकसँग भने।