भारतभर फर्किएको मनसुन अहिले कहर बनेको छ । यूपी, बिहार, उत्तराखन्ड, हिमाचल, झारखन्ड, मध्यप्रदेश तथा महाराष्ट्रका कैयौं क्षेत्रमा बाढीले सर्वसाधारणमा संन्त्रास फैलाएको छ । यी राज्यहरुमा पछिल्ला ३ दिनदेखि भारि वर्षा भइरहेको छ । अहिलेसम्म करिब ८० जनाले ज्यान गुमाइसकेको भारतीय अनलाइन अमर उजालाले समाचार छापेको छ ।
सेप्टेम्बरको अन्तिम साता चलिरहे सँगै मनसुन पनि अन्तिम चरणमै रहेको मौसमविद्हरुले आकलन गरेका छन् । ६० वर्षमा यो पटक पहिलोचोटि १५ दिनपछि मनसुन निष्क्रिय हुने अनुमान गरिएको छ । त्यहाँको मौसम विभागका अनुसार यसपटक मनसुन १५ अक्टोबरसम्म जारी रहन सक्छ । सन् १९६० पछि भारि वर्षा भएको योपटक पहिलो हो ।
भारतमा सामान्य वर्षा औसतमा लगभग ८६९ मिलिमिटर हुन्छ । तर, अहिलेसम्म ९३१ दशमलव ६ मिलिमिटर वर्षा भइसकेको छ । अर्थात् भारतभर अहिलेसम्म सामान्यत: ७ प्रतिशतभन्दा बढी वर्षा भइसकेको छ । मौसम विभागका अनुसार भारतका १६ राज्यमा सामान्य वर्षा भएको छ भने अरु ८ राज्यमा औसतभन्दा पनि कम वर्षा भएको छ ।
बिहारमा वर्षाले बेहाल : १५ जिल्लामा उच्च सतर्कता, १३ रेल रद्द
वर्षाले बिहारको अवस्था बेहाल भएको छ । भारी वर्षाले सडकदेखि घरसम्म डुबानमा परेका छन् ।
कैयौं क्षेत्रमा रेलको लिकमा पनि पानी जमेको छ । बिहारको राजधानी पटनामा बाढीले जनजीवन प्रभावित बनाएको छ । यस्तै नालन्दा मेडिकल कलेजमा वार्ड तथा आईसीयू कक्ष पानीले जलमग्न भएको छ ।
मौसम विभागले अघिल्लो दुई दिनदेखिको भारि वर्षाका कारण प्रदेशका १५ जिल्लामा उच्च सतर्कता अपनाउन अपिल जारी गरेको छ । वारि वर्षाकै कारण यहाँको नीतिशकुमार नेतृत्वको प्रदेश सरकारले पटना र भागलपुरसहित अधिकांश जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पटना जक्सनको रेल्वे लिकमा पानी भरिँदा १३ भन्दा बढी रेल परिचालन प्रभावित बनेको छ । रेल्वेबाट प्राप्त जानकारीअनुसार ६ रेलले सेवा रद्द गरे भने अन्य ५ रेलले आफ्नो मार्ग बदलेको अमर उजालामा समाचार छ ।
मौसम विभागको पूर्वानुमानमा भनिएको छ कि- अझैं एक-दुई दिन बिहारका अधिकांश क्षेत्रमा बादल लागिरहनेछ र कैयौं क्षेत्रमा भारि वर्षा हुनसक्नेछ । बिहारका कैयौं क्षेत्रमा अझै लगातार पानी परिरहेको छ ।
पटना, भागलपुर, मुजफ्फरपुर, गया, जमुई, औरंगाबाद, दरभंगा, पूर्णिया, बेतिया, जहानाबादसहित अन्य कैयौं जिल्लामा वर्षा भइरहेको छ । मुख्यमन्त्री नीतिशकुमारकै निर्देशनमा वर्षा प्रभावित जिल्लाहरुका प्रमुखले आउने दुई दिनसम्म विद्यालयमा बिदाको घोषणा गरेका छन् ।