अफ़गानिस्तानमा नयाँ राष्ट्रपति चुन्न शनिबार मतदान भएको छ । मतदानका बेला विभिन्न केन्द्रमा विस्फोट भएका छन् । विस्फोटमा कम्तीमा ४ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । मतदानका क्रममा केन्द्रहरुमा बम तथा मोर्टार हमला गरिएको थियो । यो हमलामा ८० भन्दा बढी सर्वसाधारण घाइते भएका थिए । बीबीसीका अनुसार घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार गरिँदैछ । विस्फोटकै बीच मतदान भने रोकिएको थिएन । जसमा महिलाको सहभागितासमेत उल्लेख्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तालिबान समूहले चुनावका बखत मतदान केन्द्रलाई निसाना बनाएर ठाउँ-ठाउँमा विस्फोट गराएका थिए । यस्तो अवस्थामा त्यहाँको सरकारले सुरक्षा व्यवस्था कडा बनाएको थियो । चुनावी दौरान सुरक्षा बलका ७० हजारभन्दा बढी जवानलाई तैनाथ गरिएको बीबीसीले समाचारमा जनाएको छ ।
त्यहाँकी एक महिला भन्छिन्, 'विस्फोटका बीच अफगानिस्तानमा भएको मतदानले बहादुरी परिभाषित गर्छ ।'
एक तथ्यांकअनुसार ५ वर्षअघि भएको चुनावको तुलनामा यसपटक खसेको मतको प्रतिशत भने थोरै छ । सुरक्षाकै कारण कैयौं सर्वसाधारण मतदानका लागि केन्द्रमा जानुभन्दा पनि घरमै बस्न ठीक सम्झेर मतदानमा सहभागी भएनन् ।
'जनताको इच्छालाई सम्मान गर अनि लडाइँको अन्त्य पनि गर,' राष्ट्रपति असरफ घानीले मतदानपछि तालिबान समूहलाई अपिल गर्दै भनेका छन्, 'तालिबानलाई शान्तिका लागि सधैं ढोका खुला रहेको छ ।'
बढाइयो मतदानको समय
केही क्षेत्रमा मतदानका लागि लामो लाइन लाग्यो । मतदानका लागि निस्किएका सबै सर्वसाधारणले मतदान गर्नबाट वञ्चित नहोउन् भनेर अफगानिस्तानको चुनाव आयोगले मतदानको समय २ घण्टा बढाइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
राष्ट्रपतिको चुनावी मैदानमा १६ उम्मेदवार सहभागी भए पनि वर्तमान राष्ट्रपति असरफ घानी र मुख्य कार्यकारी अब्दुल्लाह अब्दुल्लाहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सन् २०१४ मा भएको एक सम्झौताअनुसार यी दुवै सत्ताका साझेदार बनेका हुन् ।
त्यहाँको निर्वाचन आयोगले चुनावी नतिजा ३ साताभित्रै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
मतदानका लागि महिला सहभागिता उल्लेख्य
अफगानिस्तानको दक्षिणी सहर कन्धारको एक मतदान केन्द्रमा बम हमला गरियो । तर, हमलापछि पनि यी सहरका मतदान केन्द्रहरुमा मतदानका लागि महिलाहरु उल्लेख्य रुपमा लाइनमा लागेका थिए । उनीहरुमा नयाँ राष्ट्रपति चुन्ने उत्साह पनि उत्तिकै देखिन्थ्यो । अफगानिस्तानमा करिब ९६ लाख मतदाता पञ्जिकृत छन् । जसमध्ये महिलाको संख्या करिब ३५ प्रतिशत छ ।
तालिबानको विस्फोट तथा मतदान केन्द्रमाथि भएको हिंसापछि पनि मुलुकका केही क्षेत्रमा महिला मतदाताको उपस्थिति उत्साहजनक देखिन्थ्यो । काबुलका डाक्टर रोया जहांगिरले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, 'अफगानिस्तानमा जब कोही आफ्नो मत दिन सहास देखाउँछ भने त्यो त उसको बहादुरी हो जुन सहभागिताबाटै हामीले बुझ्न सक्छौं । हामी आशा गर्छौं कि यसपटक कुनै जालझेल नहोला । नत्र भने मतदातालाई एकपटक पुन: ठगिएको महसुस हुनेछ ।'
करिब दुई दशकदेखि अमेरिकाले यहाँको सुरक्षाको व्यवस्थाको अगुवाइ गरिरहेको छ । अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिवानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ । अफगानिस्तानमा हालैका दिनमा मात्र करिब १४ हजार अमेरिकी सेना छन् । बेलायत, जर्मनी र इटलीलगायत मुलुकबाट समेत हजारौंको संख्यामा सुरक्षा फौज अफगानिस्तानमा तैनाथ गरिएको छ । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानिस्तानका सैन्य फौजलाई सल्लाह र सहायता दिँदै आएका छन् । पछिल्ला वर्षमा सुरक्षाका गम्भीर घटनामा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ ।
सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिवान सत्तालाई हटाइदिएको थियो । तालिवानलाई सत्ताच्यूत गरिएपछिको यो चौथो निर्वाचन हो । यो निर्वाचनबाट आएको नेतृत्वले पनि यस अघिजस्तै तालिवानहरूलाई शान्तिवार्तामा ल्याई देशको हिंसाको अवस्थाको अन्त्य गर्ने एजेन्डा अघि सारेको छ । तालिवानले हालसम्म अफगान सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन । -एजेन्सीहरुको सहयोगमा