साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पत्रकार जमाल खसोग्गी हत्याको जिम्मेवारी लिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आगामी साता प्रसारण हुने पीबीएसको डकुमेन्ट्रीमा उनले गत वर्ष भएको खसोग्गी हत्याको जिम्मेवारी लिने बताएका हुन्। साउदी अरबका आलोचक रहेका पत्रकार खसोग्गीको गत वर्ष टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा साउदी एजेन्टहरुले हत्या गरेका थिए।
अमेरिकी गुप्तचर निकाय सीआइए र पश्चिमी देशहरुले साउदी युवराजकै संलग्नतामा उक्त हत्या भएको बताउँदै आएका थिए। तर साउदी अधिकारीहरुले यसलाई लगातार अस्वीकार गर्दै आइरहेका थिए।
उक्त डकुमेन्ट्री खसोग्गी हत्याको एक वर्ष पूरा भएको अवसरमा प्रसारण गरिँदैछ। ‘द क्राउन प्रिन्स अफ साउदी अरेबिया’ नामको उक्त वृत्तचित्रमा उनले पीबीएसका मार्टिन स्मीथसँग भनेका छन्, ‘म भएकै अवस्थामा हत्या भयो, यसको म पूर्ण जिम्मेवारी लिन्छु।’ उनको जानकारीबिना हत्या कसरी भयो भनी सोधिएको प्रश्नमा युवराजले भनेका छन्, ‘हामी २ करोड मानिस छौं, हाम्रा सरकारी कर्मचारी ३० लाख छन्।’
अन्तर्वार्तामा हत्याराहरुले सरकारको निजी जेटको प्रयोग गरेका थिए भनेर सोधिएको प्रश्नमा उनले भने, ‘हाम्रा सरकारी अधिकारी र मन्त्रीहरु छन्, उनीहरु जिम्मेवार छन्, उनीहरुलाई यस्तो गर्ने अधिकार छ।’
साउदी सरकारी अधिकारीका अनुसार गुप्तचर संयन्त्रका तत्कालीन उपप्रमुखले खसोग्गीलाई स्वदेश फिर्ता ल्याउन आदेश दिएका थिए। तर त्यसमा असफल भएपछि मुख्य वार्ताकारहरुले उनको हत्याको आदेश दिएका थिए।
वाशिङटन पोस्टका पत्रकार खसोग्गीको २ अक्टोबर २०१९ मा टर्कीको इस्तानबुलमा हत्या भएको थियो । उनको शवसमेत हालसम्म बरामद हुन सकेको छैन।