बंगलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौती दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाहका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सञ्जालमा जताततै छाएका (भाइरल भएका) छन् ।
यसले परम्पराको नाममा हुने महिला अधिकार हननका विषयमा बहस तीव्र बनाइदिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुसीले सयौँ जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुगेकी थिइन् । शनिबार भएको विवाह बंगलादेशको पश्चिमी ग्रामीण जिल्ला मेहरपुरमा भएको हो ।
मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भए पनि एसियाली यो मुलुकमा भएको विवाहोत्सवले सामाजिक सञ्जालमार्फत विश्वभर चर्चा पाएको छ ।
'हो, परम्परागत रूपमा यो असामान्य हो । तर, अन्य दिदीबहीनीहरूले पनि यसलाई व्यवहारमा ल्याउने साहस गरून् भन्ने ध्येयले मैले नयाँ चलनको आरम्भ गरें,' खुसीले भनिन् । बेहुला इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ भएको थियो ।
इस्लामले भने, 'महिला पुरूषबीचको समान अधिकारका लागि लिंगगत विभेद अन्त्य गर्ने उद्देश्य साथ हामीले नयाँ चलनलाई व्यवहारमा ल्यायौँ । यसलाई हाम्रो परिवार र समाजले स्वीकार गर्यो ।' विवाह परम्परावादी मूल्यमान्यता दह्रोसँग गाँजिएको बहुसंख्यक मुसलमान (१६ करोड ८० लाख जनसंख्या) रहेको मुलुक बंगलादेशका सञ्चारमाध्यमको मुख्य समाचार बनेको छ ।
कतिपय पत्रपत्रिकाले त यसलाई विशेष महत्त्व दिएर छापेका छन् । केही किशोरले बेहुली खुसीको प्रशंसा गर्दै भनेका छन्, 'उनी साहसी महिला हुन् । म उनीजस्तै महिलालाई विवाह गर्न चाहन्छु ।' यसैगरी केहीले भने उक्त घटनालाई व्यापक आलोचना गर्दै यसले नवजोडी तथा उनको परिवारमा नराम्रो प्रभाव छाड्ने बताएका छन् । 'त्यो परिवारलाई सजाय दिनुपर्छ,' मोहम्मद अबुल हस्नतले च्यानल २४ को वेबसाइटमा लेखेका छन् । -रासस