उनका लागि त्यो दिन सबैभन्दा यादगार हुन सक्थ्यो । तर, एकै पलमा सबै कुरा बदलियो । यी युवा एक खास कारणले पानीको गहिराईमा गएर आफ्नी प्रेमिकालाई प्रपोज गर्न चाहन्थे । तर, दुर्घटनामा उनको मृत्यु भएको छ । यो जोडी बिदा मनाउन तान्जानिया गएको थियो । अमेरिकी युवक पानीभित्र गएर आफ्नी प्रेमिकालाई प्रपोज गरिरहेको बेलामा यस्तो दुर्घटना भएको हो ।
स्टिब बेवर नामका ती व्यक्ति र उनकी गर्लफ्रेन्ड केनेसा एन्टोइन पेम्पा द्वीपभन्दा केही टाढा मान्टा रिसोर्टमा एक जलमग्न क्याबिनमा बास बसेका थिए । यो दुर्घटनापछिका केही फुटेज सामुन्ने आएका छन् । त्यसमा बेवर पानीको तल गएर आफ्नी प्रेमिकालाई विवाहका लागि सोधिरहेका थिए । बेवरकी प्रेमिका केनेसाले फेसबुक पोस्टका माध्यमबाट उनको मृत्युको खबर सार्वजनिक गरेकी छन् । जहाँ लेखिएको छ, '‘उनी गहिराईबाट कहिले पनि बाहिर आउन पाएनन् ।’
यो घटना गएको बिहीबार भएको बीबीसीले समाचारमा जनाएको छ । उनीहरुले चार रातका लागि त्यहाँ कोठा बुकिङ गरेका थिए । उक्त कोठा किनाराबाट २५० मिटर दूरीमा छ । कोठाको एक रातको भाडा झन्डै १७ सय डलर छ । रिसोर्टमा यो जोडीको तेस्रो दिन थियो । वेबर लुसियानाका बासिन्दा हुन् । उनले आफ्नी प्रेमिकालाई प्रपोज गर्नकै लागि पानीमा गोता लगाउनुका साथै आँखामा पानीभित्र लगाइने चस्मासमेत पहिरिएका थिए । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले पनि यो घटनाबारे पूर्ण जानकार रहेको जनाएको छ ।