पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो आकाश भएर हवाई यात्रा गर्न अनुमति नदिने बताएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सेप्टेम्बर २१ मा अमेरिका यात्रामा निस्कँदै छन् । मोदी २२ सेप्टेम्बरमा ह्यूस्टनमा हुने ‘हाउडी मोदी’ कार्यक्रममा सहभागी हुँदै छन् । ‘भारतले पाकिस्तानी आकाश भएर प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनी जान चाहेको भन्दै अनुरोध गरेको थियो । तर काश्मीरको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै हामीले अनुमति नदिने निर्णय लियौँ,’ आफ्नो हवाई क्षेत्र (एयर स्पेस) बाट यात्रा गर्न अनुमति नदिएको पुष्टि गर्दै पाकिस्तानी विदेशमन्त्री शाह महम्मुद कुरैसीले भने, ‘हामीले भारतीय उच्च आयोगलाई जानकारी गराइसक्यौँ कि नरेन्द्र मोदीको यात्राका लागि हामीले आफ्नो हवाई क्षेत्र भएर उड्न अनुमति दिँदैनौँ ।’
भारतीय प्रधानमन्त्री मोदी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाँदै छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि न्युयोर्क जाँदै छन् । उनले संयुक्त राष्ट्रसंघमा काश्मीर मुद्दामा बोल्ने सम्भावना छ । खानले सेप्टेम्बर २७ मा महासभामा सम्बोधन गर्दै छन् ।
भारतले भने प्रधानमन्त्री मोदीका लागि हवाई क्षेत्रको अनुमति नदिएर पाकिस्तानले अन्तर्राष्ट्रिय कानुन मिचेको आरोप लगाएको छ । भारतले काश्मीरलाई विशेष राज्यको भूमिका दिने संविधानको धारा ३७० खारेज गरेसँगै पाकिस्तान-भारतबीच सम्बन्ध चिसिएको छ । -एजेन्सीको सहयोगमा