पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध सम्भव रहेको बताएका छन्। अल जजीरा टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा ‘के कश्मीर मुद्दामा भारतसँग युद्धको खतरा छ ?’ भनेर सोधिएको प्रश्नमा इमरानले खतरा रहेको बताएका हुन्।
उनले छिमेकी मुलुकमध्ये चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमा निकट रहेको उल्लेख गर्दै उनले भारतसँगको सम्बन्ध निकै तल्लोस्तरमा रहेको बताए। उनले कश्मीरका ८० लाख मुस्लिम विगत ६ हप्तादेखि भारतीय कैदमा रहेको र पाकिस्तानलाई आतंकवाद फैलाएको आरोप लगाएर भारतले कश्मीर मुद्दाबाट विश्वको ध्यान अन्यत्र मोड्न चाहेको आरोप लगाए।
‘पाकिस्तानले कहिल्यै पनि युद्धको सुरुवात गर्नेछैन, यस विषयमा म स्पष्ट छु, म शान्तिप्रेमी मानिस हुँ, युद्धविरोधी हुँ, युद्ध कुनै पनि समस्याको समाधान होइन भन्ने मेरो मान्यता छ,’ उनले भने ।
उनले दुई परमाणु शक्तिसम्पन्न देश भिड्दाको नतिजा के हुन्छ भनेर कल्पना पनि गर्न नसकिने भएकाले पाकिस्तानले संयुक्त राष्ट्रसंघसँग सम्पर्क गरेको र विश्वमञ्चहरूमा यो मुद्दालाई उठाइरहेको बताए। ‘यदि युद्ध भयो भने भारतीय उपमहाद्विपमा मात्र सीमित रहनेछैन, त्यसबाट अगाडि बढेर पूरै विश्व प्रभावत हुनेछ,’ उनले भने।
उनले आफूले भारतसँग वार्ता प्रयास गरेको र भारतले भने पाकिस्तानलाई आर्थिक रुपमा टाट पल्टिएको घोषणा गराउने प्रयास गरेको पनि उल्लेख गरे। आर्थिक रुपमा कालो सूचीमा राख्न भारत सफल भएमा आफूमाथि विभिन्न प्रतिबन्ध लाग्नसक्ने भएकाले भारतले उक्त प्रयास गरेको उनको भनाइ छ।