भारतको प्रमुख विपक्षी कंग्रेस आईकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीलाई फरक तरिकाले अघि बढाउने संकेत गरेकी छन् । पार्टीको बिहीबार बसेको बैठकले सोनियाले पहिलेका अध्यक्ष तथा आफ्ना पुत्र राहुलभन्दा फरक तवरबाट पार्टी चलाउने संकेत गरेकी हुन् ।
यस्तै उनले बैठकमा काश्मीर मामिलालाई सम्बोधन गर्ने संविधानको धारा ३७० खारेज गर्ने निर्णयबाट टाढा रहन आग्रह गरेकी छन् । उनले असममा थुप्रै मानिस नागरिकता सूचीबाट बाहिरिएको विषय तथा राम मन्दिरजस्ता विषयबाट पनि टाढा रहन आग्रह गरेकी छन् ।
सोनियाले कंग्रेसका सबै नेता कार्यकर्ता आर्थिक मन्दी, नोकरीको कमी तथा लगानीको अवस्था डगमागाइरहेको विषयमा केन्द्रित हुनुपर्ने जनाएकी छन् ।
उनले जुन विषयबाट टाढा रहन भनेकी छन्, ती विषयले कंग्रेसभित्रै ध्रुवीकरण हुन सक्ने अवस्था छ । सोनियाले कंग्रेस रोजी रोटीको मुद्दामा लाग्नुपर्ने जनाएकी छन् । उनले पार्टीमा ट्रेनिङ को-अर्डिनेटर नियुक्त गर्ने निर्णय पनि गरेकी छन् । सोनियाले घरघरमा गएर सदस्यता अभियान चलाउने विषयमा उठाएकी थिइन् । जसमा मुख्यमन्त्रीदेखि बुथ कार्यकर्तासम्मलाई सहभागी गराउने योजना बनाइएको छ ।
राहुल गान्धीले राजनीतिलाई आधुनिक दृष्टिबाट हेर्न खोजे पनि सोनियाले भने फरक ढंगले हेर्न खोजेको जस्तो पाइएको छ । बिहीबारको कंग्रेसको बैठकमा सोनियाको प्रस्तुतिलाई अन्य नेताहरुले चासोसाथ हेरेको पाइएको बीबीसीले समाचारमा जनाएको छ ।