भारतका प्रसिद्ध वकिल एवं पूर्व कानुनमन्त्री राम जेठमलानीको आइतबार बिहान ९५ वर्षको उमेरमा निधन भएको छ। सन् २०१७ मा कानुनी पेशाबाट रिटायर भएका उनले विभिन्न हाइ प्रोफाइल केस हेरेका थिए।
उनले इन्दिरा गान्धी तथा राजीव गान्धी हत्याका आरोपी, जयललिताको अघोषित सम्पत्ती, जेसिका लाल हत्याकान्डका अभियुक्त, चारा घोटालाका आरोपी लालुप्रसाद यादव, जोधपुर बलात्कार कान्डमा आसाराम बापुको बचाउ गरेका थिए। अधिकांश चर्चित मुद्दामा उनी अभियुक्त तथा दोषी पक्षका वकिल भएका थिए।
सन् १९८८ मा राज्यसभा सांसद बनेका थिनी अटलबिहारी बाजपेयी सरकारमा १९९६ मा कानुन मन्त्री बनेका थिए भने बाजेपयीकै अर्को कार्यकालमा उनी शहरी विकास मन्त्री बने। १९९९ मा फेरि कानुनमन्त्री बने पनि सर्वोच्च अदालतका मुख्य न्यायाधीश एएस आनन्दसँग मतभेद भए पछि राजीनामा दिएका थिए।
सन् १९९४ को आमचुनावअघि उनले नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा समर्थन गरेका थिए। तर मोदी प्रधानमन्त्री भए पछि उनीविरुद्ध उत्रिए। उनले २०१५ को अक्टोबरमा पटनामा भएको कार्यक्रममा भनेका थिए– मैले भोट दिन सक्ने भए नीतिशकुमारलाई दिन्थें, किनभने म चाहन्छु मोदीले हारको स्वाद चाखुन्।’
उनले १३ वर्षकै उमेरमा म्याट्रिक गरेका थिए भने १७ वर्षको उमेरमा कानुनको डिग्री हासिल गरेका थिए। प्रधानमन्त्री मोदीले जेठमलानीको निधनमा गहिरो शोक व्यक्त गर्दै उनको अदालत र संसदमा योगदान रहेको बताएका छन्।