कश्मीरमा भारतले संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तान र भारतबीच पछिल्लो समय तनाव बढ्दो छ। जसका कारण पाकिस्तानले यसअघि नै आफ्नो ‘एयर स्पेस’ बन्द गरेको थियो । जसका कारण भारतीय वायुसेवा कम्पनीहरु लामो रुट तय गर्न बाध्य बनेका छन्।
यसैक्रमममा सोमबारदेखि आईसल्याण्ड भ्रमणमा जान लागेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हवाई यात्रा पनि लामो हुने भएको छ।
भारतीय सरकारले राष्ट्रपतिका लागि पाकिस्तानसँग हवाई रुट प्रयोग गर्न अनुमति मागेको थियो । तर पाकिस्तानले राष्ट्रपति कोविन्दलाई पनि आफ्नो देशको हवाई रुट प्रयो गर्न नदिने प्रष्ट पारेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले भारतको प्रस्ताव आएको र त्यसलाई आफूहरुले अस्वीकार गरेको जानकारी दिए।
विदेशमन्त्री कुरेशीले कश्मीरको तनावका कारण यस्तो निर्णयमा पुगेको पनि बताए। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको भ्रमण गर्दा एयर स्पेस प्रयोग गर्ने अनुमति दिए पनि मोदीले उक्त एयर स्पेस प्रयोग गरेका थिएनन् ।
भारतीय राष्ट्रपति कोविन्द सोमबारदेखि आइसल्याण्ड, स्वीट्जरल्याण्ड र स्लोभेनियाको भ्रमणमा जाँदैछन् ।