हुरीकन डोरियन नामक क्याटेगोरी पाँचको शक्तिशाली समुद्री आँधी क्यरेबियन आइल्याण्डको उत्तर पश्चिमी बहामस पुगेको छ। सात मिटर उचाइसम्म पुग्ने अनुमान गरिएको आँधी निक्कै घातक हुनसक्ने चेतावनी दिइएको छ।
आँधी प्रतिघण्टा २ सय ८५ किलोमिटरको वेगमा अघि बढिरहेको छ। समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय ‘एनएचसी’का अनुसार आधुनिक तथ्याङ्क राख्न थालिएयताकै डोरियन अति खतरानाक आँधी हो।
आँधीले बहामसमा पर्ने एबाको टापुको एल्बोकीका ठुलो क्षति पुर्याएको छ। डोरियनलाई बहामस सरकारले राक्षस आँधी को संज्ञा दिएको छ। स्थानीयलाई आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ। आँधी अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार सोमवार अबेर प्रवेश गर्ने ठानिएको छ।
डोरियन कुनमार्गवाट जान्छ भन्ने स्पष्ट भएको छैन। आँधी आउने सम्भावनालाई ध्यानमा राखेर अमेरिकाका चारवटा राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ। आपतकालीन अवस्था घोषणा गरिएका राज्यमा फ्लोरिडा, जर्जिया, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइना रहेका छन्।