भारतीय पूर्वप्रधानमन्त्री एवं भारतीय कंग्रेसका नेता मनमोहन सिंहले वर्तमान सरकारकै कारण मुलुकले आर्थिक मन्दी झेलिरहेको बताएका छन् । उसो त अहिले पनि भारतभर आर्थिक मन्दीले सबैलाई असर गरिरहेको छ ।
यही मन्दीलाई लिएर नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि विपक्षी कंग्रेस नेता सिंहले धावा बोलेका हुन् । सिंहको पार्टी कंग्रेसले समेत मोदी सरकारमाथि निशाना साँधिरहेको देख्न सकिन्छ ।
देशको अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आएको गिरावटलाई लिएर सिंहले पनि चिन्ता जाहेर गर्दै सरकारतर्फ औंलो ठड्याएको अमर उजालाले समाचार छापेको छ । अर्थविदसमेत रहेका सिंहले भारतको आजको अर्थ व्यवस्था निकै चिन्ताजनक रहेको जनाए । उनले यही बाटोमा भारतले लगातार हिँड्ने जोखिम लिन नसक्ने बताएका छन् । भारतसँग तीब्र गतिमा हिँड्न सक्ने क्षमता भएको उल्लेख गर्दै उनले मोदी सरकारलाई प्रतिशोधको राजनीति त्याग्न आग्रहसमेत गरेका छन् ।
उनले भारतीय अर्थ व्यवस्थामा तीव्र गतिमा बढ्ने क्षमता भए पनि मोदी सरकारको कुप्रबबन्धले आर्थिक सुस्ततामा देश गएको जनाएका छन् । सिंहले भारतको अर्थ व्यवस्था नोटबन्दी र हतारमा जीएसटी लागू गर्दा आर्थिक वृद्धदर माथि जान नपाएको भन्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरेका छन् ।