भारतको बिहार राज्यमा पान मसालामा प्रतिबन्ध लगाइएको छ। नितिश कुमारको सरकारले तीन वर्ष पहिला रक्सी र गुट्खा बन्द गरेकोमा अहिले पान मसाला पनि बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार स्वास्थ्य विभागको उच्चस्तरीय बैठकमा पान र पान मसला बन्द गर्ने निर्णय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यो प्रतिबन्ध अहिलेलाई एक वर्षका लागि लगाइएको हो। अब बिहारमा पान मसलाको बिक्री, उत्पादन, भण्डारन र सेवन गरेमा अवैध मानिने छ। विहार पानको परिपुरक जस्तै रहेकाले यो निर्णय कार्यान्वयन गर्न भने चुनौती छ।
विहारको राजधानी पटनाको वोरिंग रोडमा रमेश गुप्ताको पान र सिगरेटको पसल छ। उनको मुख्य आम्दानी नै त्यही पसलबाट हुने हुँदा यो निर्णय कार्यान्वयन भए उनी जस्तै यो पेशामा आवद्ध भएकाहरुलाई अरु कामको विकल्प खोज्नु पर्ने छ। विहार सरकारले गरेको निर्णयका विषयमा सहरमा विभिन्न टिकाटिप्पणी भइरहेको खबर बीबीसीले लेखेको छ। व्यवसायीहरुले यो निर्णय व्यवहारिक नभएको टिप्पणी गरेका छन्।
तर इन्दिरा गान्धी आयुर्विज्ञान संस्थानका वरिष्ठ चिकित्सक डा हर्षबर्धनले यो निर्णयको स्वागत गरे । उनले भने ‘यो निर्णय कार्यान्वयन भएमा मुख क्यान्सरबाट मृत्यु हुनेको संख्यामा कमी आउने छ।’
बजारमा अहिले बिक्री भइरहेका पान मसालाको नमूना परीक्षण गर्दा प्रतिबन्धित केमिकल म्याग्नेशियम कार्बोनेट पाइएको थियो। त्यसपछि यो निर्णयमा पुगेको जनाइएको छ । एक वर्षभित्र कम्पनीहरुले आफ्नो उत्पादनमा सुधार गरेमा पुनः बिक्री गर्न दिने निर्णयमा पनि उल्लेख गरिएको छ।
अहिले सुरुमा २० पान मसाला कम्पनीमा प्रतिबन्ध लगाइएको छ। ती कम्पनीमा भारतीय बजारको ठूलो हिस्सा ओगट्ने रजनीगन्धा, राज निवास, सुप्रीम, पान पराग, राजश्री, रौनक, सिग्नेचर, कमला पसन्द, मधु पान मसाला लगाएतका छन् ।
विहार सरकारको पछिल्लो निर्णय पछि चेम्बर अफ कर्मशका अध्यक्ष पीके अग्रवालले भने ‘रक्सी प्रतिबन्धपछि सामाजिक परिस्थितिमा सुधार आए पनि राजश्व संकलनमा भने कमी आएको छ।’ यसैगरी यो फैसलाको भविष्यमा कस्तो प्रभाव पर्छ त्यो भने पछि नै थाहा हुने भन्दै विहारमा कुनै पनि पान मसला कम्पनी नभएकाले यसको उत्पादनमा भने कुनै असर नगर्ने उल्लेख गरे।