अमेरिकाको टेक्सास मिडल्याण्ड र ओडसा शहरमा भएको गोलीकान्डमा ५ जनाको मृत्यु भएको छ। घटनामा २१ जना घाइते भएका छन्। मिडल्याण्डको सिनर्जी फिल्म थिएटर नजिकैबाट गोली प्रहार भएको थियो। प्रहरीको जवाफी आक्रमणमा आक्रमणकारी पनि मारिएका छन्। गोली प्रहार गर्ने व्यक्तिको बारेमा भने खुलाइएको छैन।
अमेरिकी प्रहरीका अनुसार आक्रमणकारी वाइकमा आएको र पोस्टल विभाग अगाडि गाडी कब्जामा लिएपछि गोली प्रहार गरेका थिए । ओड्सा प्रहरी प्रमुख माइकल गेरेकले आक्रमणकारीलाई रोक्न खोज्दा प्रहरी अधिकृतमाथि पनि गोली प्रहार भएको बताए।
अमेरिकामा पछिल्लो समय गोली प्रहारबाट हत्या गर्ने क्रम बढ्दै गएको छ। पछिल्लो महिना टेक्सासमा गोली प्रहारहुँदा २९ जनाको ज्यान गएको थियो । २०१७ मा अमेरिकामा गोली प्रहारबाट ४० हजारको ज्यान गएको उल्लेख छ । यो ५० वर्षमा सर्वाधिक ठूलो तथ्यांक पनि हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास गोलीकाण्डबारे छानविन गर्न निर्देशन दिएका छन् ।