भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै खुसी मुडमा देखिएका छन् । फ्रान्समा जारी जी ७ बैठकमा सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कुराकानी भएको छ । त्यो पनि निकै सौहार्दपूर्ण वातावरणमा ।
काश्मीरसम्बन्धी धारा ३७० खारेज भएपछि ट्रम्पले भारत र पाकिस्तानबीच मध्यस्थताको प्रस्ताव राख्दै आएका छन् । मध्यस्थताको प्रस्तावको कारण एकपटक दुई देश (भारत-अमेरिका) बीच थोरै असहज जस्तो अवस्था देखिए पनि अहिले भने दुई पक्षका नेताबीच कुराकानी भएपछि वातावरण केही सहज देखिएको पाइन्छ । मोदीले पछिल्लो समयमा भारत र पाकिस्तान मिलेर समस्या समाधान गर्ने र यसमा तेस्रो पक्षको मध्यस्थताको आवश्यक नरहेको जनाएका छन् । यो कुरामा ट्रम्प पनि मोदीको भनाइमा सहमत देखिएका छन् ।
फ्रान्समा आयोजित जी ७ बैठकपछि ट्रम्प र मोदीबीच भेटघाट भएको थियो । भेटपछि दुवै पत्रकारसामु आएका थिए । सोमबार उनीहरुबीच के कुराकानी भयो भन्ने प्रश्नमा हिन्दीमा मोदीले भनेका थिए, ‘मलाई लाग्छ हामी दुवैलाई कुरा गर्न दिनुस् । हामीहरु कुरा गरिरहन्छौं । जब आवश्यकता हुन्छ त्यतिबेला हामी अवश्य पनि तपाईंहरुलाई जानकारी गराउँछौं ।’
मोदीको यो प्रतिक्रियापछि ट्रम्पले भनेका थिए, ‘वास्तवमा उनी एकदम राम्रो अंग्रेजी बोल्छन् । उनी खाली बोल्न चाहँदैनन् ।’ ट्रम्पको यस्तो टिप्पणीप्रति प्रधानमन्त्री मोदी खुलेर हाँसेका थिए । त्यसपछि मोदीले हाँस्दै ट्रम्पको हातमाथि आफ्नो हात ठोक्काएका थिए । यो क्रम केही बेर चलेको थियो । उनीहरुको यो शैली देखेर उपस्थित अन्य व्यक्ति पनि हाँसेको भन्दै बीबीसीले समाचारमा जनाएको छ ।