भारत उत्तर प्रदेशको शाहजहापुरमा भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । टेम्पो र पिकअप भ्यानलाई ठक्कर दिएर मंगलबार ट्रक पल्टिँएको नवभारत टाइम्सले उल्लेख गरेको छ ।
दुर्घटनामा घाइते भएकाहरुको अवस्था चिन्ताजनक रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । राष्ट्रिय राजमार्गको जमुनाहा चोकनजिकै गुडिरहेको टेम्पोलाई पछाडिबाट आएको अनियन्त्रित ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनीहरुका अनुसार टेम्पोलाई ठक्कर दिएपछि अगाडि रहेको यात्रुवाहक पिकअप भ्यानलाई ठक्कर दिएर सडकमा पल्टिएको थियो ।
दुर्घटनापछि राजमार्ग बन्द, लाग्यो लामो जाम
दुर्घटनाको सूचना पाउनेबित्तिकै प्रहरी पुगेर उद्धार गरेको थियो । केही शव टेम्पोमा च्यापिएका छन् । प्रहरीले च्यापिएका शव निकाल्ने र घाइतेलाई शीघ्र नजिकको अस्पतालमा पुर्याउने काममा मद्दत गरेका थिए । दुर्घटनापछि राजमार्गमा निकै लामो सवारीसाधनको जाम लागेको थियो । जाम खुलाउन प्रहरीलाई हम्मे परेको थियो । सडकको अवरोध पन्छाएर सवारीसाधन आउजाउ सहज बनाइएको थियो । -नवभारत टाइम्स