भारतले जम्मु कश्मीरबाट धारा ३७० हटाएपछि पाकिस्तान भारतसँग युद्धको तयारीमा लागेको बताइएको छ। भारतीय सञ्चार माध्यमको दाबीअनुसार पाकिस्तानी सेनाले ३७० हटाएको भोलिपल्टबाटै भारत प्रशासित कश्मीरसँग सीमाना जोडिएको लाइन अफ कन्ट्रोल (एलओसी) मा गतिविधि बढाएको छ।
पाकिस्तानी सेनाको स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार पाकिस्तानी सेना भारतसँग एउटा सानोतिनो युद्धकै तयारीमा जुटेको छ। पाकिस्तानी सेनाका एक अधिकारी भन्छन्– वर्तमान अवस्था कुनै युद्धको तयारीभन्दा कम छैन।’ एलओसीनजिकै रहेको निलम नदीको क्षेत्रमा पाकिस्तानी सेनाले गोला–बारुद्ध र सैन्य हतियार संकलन गर्न थालेको छ, जसका कारण कुनै पनि अवस्थामा युद्ध भड्कने अवस्था आँकलन गरिएको हो।
एलओसीको हरेक क्षेत्रमा पाकिस्तानी सेनाका ६ ब्रिगेड जम्मा जम्मा भएका छन्। पाक सेनाको मुख्य केन्द्र भौतिक र रणनीतिक रुपमा महत्वपूर्ण मानिएको दाना र बाघ क्षेत्र रहेको बताइएको छ। यसका साथै सैन्य हतियार बाघ, लीपा र चम्ब क्षेत्रमा पनि संकलन गरिएको छ। इस्लामावादको सैन्य र राजनीतिक वृत्तमा पाकिस्तान युद्धको तयारीमा रहेको चर्चा चलेको पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
पाकिस्तानी सेनाका एक उच्च अधिकारीका अनुसार युद्ध कहिले सुरु हुन्छ, त्यो तत्काल भन्न मुस्किल छ। तर दुवै देशका सेना युद्धका लागि तयार छन् भनेरचाहिँ भन्न सकिन्छ। एक अनुमानअनुसार दुवै देशबीच आगामी सेप्टेम्बर र अक्टुबरको बीचमा युद्ध हुनेछ। त्यसको तर्कचाहिँ के छ भने त्यसपछाडिको समयमा त्यस क्षेत्रमा भारी हिमपात हुन्छ र युद्ध जटील हुन्छ । अर्कोतिर भारतले आफूहरुलाई निलम नदीभन्दा पछाडि धकेल्न चाहेको भन्ने पाकिस्तानी सेनाको आशंका छ।
गत २१ अगष्टमा न्युयार्क टाइम्सलाई दिएको अन्तर्वार्तामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग अब वार्ता गर्नुको कुनै तुक नभएको बताएका थिए। यसबाट पनि पाकिस्तान वार्ता नभई युद्धको तयारीमा रहेको पुष्टि हुने जनाइएको छ।
यता पाकिस्तानीका चिफ अफ आर्मी स्टाफ जनरल कँवर जावेद बाज्वाले आफ्नो सेनाले भारतको गतिविधिमा निगरानी गरिरहेको बताएका छन्। उनले भारतको कुनै पनि आक्रमणको जवाफ दिन आफ्नो सेना पूर्ण रुपले तयार रहेको बताएका छन्। स्रोत- भारतीय सञ्चारमाध्यम