भारतका पूर्व वित्त मन्त्री तथा भाजाप नेता अरुण जेट्लीको आज अन्त्यष्टि गरिने भएको छ। ६६ वर्षीय जेट्लीको शनिबार दिउँसो नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको थियो।
उनको आज निगमबोध घाटमा अन्तिम संस्कार गरिने जनाइएको छ। जेट्लीलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरिर निवासमै राखिएको छ। त्यसपछि विहान १० बजे भाजपाको कार्यालयमा राख्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। किड्नी ट्रान्सप्लान्ट गरेका उनलाई लाईफ सपोर्ट सिस्टममा राखिएको थियो।
जेट्लीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति रामनाथ कोविन्द, अमित साह, राजनाथ सिंह, निर्मला सीतारमण, लालकृष्ण आडवाणी, मनमोहन सिंह, राहुल गान्धी लगाएतका नेताहरु निवासमा पुगेका थिए।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले जेट्लीको निधन प्रति दुःख व्यक्त गरेका छन्। बहराइनको भ्रमणमा रहेका मोदीले जेट्लीकी श्रीमती र छोरासँग कुरा गर्दै विदेश भ्रमण छोट्याउने बताएका थिए।
जेट्लीलाई श्वास प्रश्वासमा समस्या देखिए पछि अगष्ट ९ तारिखमा एम्स अस्पतालमा भर्ना गरिएको थियो। उनको गत जनवरी १३ मा न्यूयोर्कबाट भारत फर्किएका थिए। विरामी भएकै कारण मोदीको पहिलो मन्त्री मण्डलमा सहभागि भएका जेट्लीको कार्यभार पियुष गोयलले सम्हालेका थिए।
अहिलेको सरकारमा पनि सहभागि गराउन खोज्दा जेट्लीले स्वास्थ्यको कारण देखाउँदै मन्त्री बन्न अस्वीकार गरेका थिए। उनी भाजपाले चुनावमा जित हात पार्दा पार्टी कार्यालय समेत पुग्न सकेका थिएनन्।