अमेजन क्षेत्रको जंगलमा भएको भीषण डढेलो नियन्त्रण गर्न ब्राजिलले सेना पठाउने भएको छ ।
ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोले सैनिक बललाई आगो निभाउन आदेश दिइसकेका छन् । उनले सेनालाई प्राकृतिक आरक्ष, आदिवासीको रहेको भूमि तथा सिमावर्ती क्षेत्रमा परिचालित भएर डढेलो नियन्त्रण गर्न आग्रह गरेका छन् ।
युरोपेली नेताहरूले चर्को दबाब दिएपछि मात्र ब्राजिलका राष्ट्रपति बोल्सोनारोले अमेजनको डढेलो नियन्त्रण गर्न चासो व्यक्त गरेका हुन् । अन्य मुलुकका नेताहरूको प्रतिक्रियाको बोल्सोनारोले आलोचना गर्दै जंगलमा भएको डढेलोलाई कसैको सजिलै तरिकाले काबुमा राख्न नसक्ने जिकिर गरेको बीबीसीले उल्लेख गरेको छ ।
विशेषतः ब्राजिलले अमेजन आगलागी नियन्त्रणका लागि तत्परता नदेखाएसम्म दक्षिण अमेरिकी मुलुकसँग हुने ठूलो परिमाणको व्यापार अगाडि बढाउन नसक्ने भन्दै फ्रान्स र आयरल्यान्डले चर्को दबाब दिएपछि ब्राजिल तत्पर भएको हो । अमेजनको डढेलो नियन्त्रणका लागि काम गर्न सरकारलाई आग्रह गर्दै ब्राजिलभरका सरहमा वातावरण अधिकारकर्मीले शुक्रबार प्रदर्शन गरेका थिए । विभिन्न मुलुकमा रहेका ब्राजिलियन दूतावास बाहिर भेला भएर उनीहरूले प्रदर्शन गरेका थिए ।
अमेजनलाई विश्वकै सबैभन्दा ठूलो पानी पार्न सघाउने जंगलका रूपमा लिइन्छ । यसले विश्वव्यापी रूपमा बढ्दो तापमानलाई घटाउन मद्दत गर्दै आएको छ । यसलाई विश्वको फोक्सो पनि भन्ने गरिन्छ । यो क्षेत्रमा ३० लाख वनस्पति र जन्तुका साथै १० लाख आदिवासी मानिसको बसोबास गर्छन् ।
नेसनल इन्स्च्यिुट फर स्पेस साइन्सका अनुसार यसपालि अमेजनको ब्राजिल क्षेत्रपट्टि यसपालि ८५ प्रतिशतजति डढेलो फैलिएको छ । नासाका अनुसार विगत १५ वर्षमा जेजति डढेलो भएको थियो, यसपालि मात्र करिब-करिब त्यति नै मात्रामा डढेलो लागेको छ । -बीबीसी