भारतका पूर्व बित्त मन्त्री तथा भारतीय जनता पार्टी भाजपाका नेता अरुण जेट्लीको स्वास्थ्य झनै जटिल बनेको छ। दिल्लीको अखिल आयुर्विजान संस्थान एम्समा उपचार गराई रहेका जेट्लीलाई आइतबार भेन्टीलेटरमा राखिएको छ।
उनको मुटुले काम गर्न नसक्ने भएपछि भेन्टीलेटरमा राखिएको जनाइएको छ। ६६ वर्षिय जेट्लीलाई ९ अगष्टमा एम्समा भर्ना गरिएको थियो। उनलाई श्वास लिन निकै अप्ठेरो हुने गरेको छ।
उनको स्वास्थ्यमा सुधार नआएपछि अहिले भाजपाका नेता तथा कार्यकर्ताहरु एम्स अस्पताल पुगेका छन्। जेट्ली वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्तमन्त्री भएका थिए।
तर पटक पटक अस्वस्थ भएपछि उनको अधिकांश कार्यभार पियूष गोयलले सम्हालेका थिए। यस पटक पनि मोदीले मन्त्री बनाउने इच्छा गरे पनि जेट्लीले आफै स्वास्थ्यका कारण मन्त्री नबन्ने बताएका थिए।