अगष्ट १५ तारिख, आज भारत अंग्रेजको अधिनबाट मुक्त भएको दिनको रुपमा त्यहाँ ७३ औं स्वतन्त्रता दिवस मनाइँदै छ।
स्वतन्त्रता दिवसको अबसरमा नयाँ दिल्लीको लाल किल्लामा विशेष समारोहको आयोजना गरियो। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डोत्तलोन गरेका थिए।
त्यसपछि समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री मोदीले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको अनुच्छेद ३७० खारेज गरेको र यसले त्यहाँका नागरिकको अधिकार स्थापित गरेको बताए।
जम्मू–कश्मीरमा पछिल्लो ७० वर्षमा आतंकवाद, पृथकतावाद, परिवारवाद र भ्रष्टाचारको मियो बलियो बनाउने काम भएको र आफ्नो सरकारले त्यसलाई तोड्ने प्रयास थालेको जिकिर गरे।
उनले अब भारतका हरेक नागरिक ‘एक देश, एक संविधान’ भन्न सक्ने अवस्था आएको उल्लेख गरे।
उनले विश्व अहिले आतंकवादबाट असुरक्षित रहको तर्फ संकेत गर्दै भारतले आतंकवादविरुद्ध कडा कदम चाल्ने उल्लेख गरे। पाकिस्तानका नाम नै नलिई प्रधानमन्त्री मोदीले आतंकवादलाई आश्रय दिने मुलुकविरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत गरेका थिए।
उनले आतंकवादले भारतमात्रै नभई एसियाका बंगलादेश, अफगानिस्तान र श्रीलंका समेत चेपटामा परेको उल्लेख गर्दै त्यहाँ कुनै घटना हुँदा भारत मुक दर्शक बनेर नबस्ने चेतावनी दिए।