अहिले जम्मु-काश्मीरको अवस्था तनावपूर्ण बनेको छ । यहाँको विशेष दर्जा दिने संविधानको धारा ३७० हटाइएपछि यहाँको अवस्थाबारे संसारको चासो बढेको छ ।
यस्तो तनापूर्ण अवस्थामा भने आज सोमबार साता दिनदेखिको निरन्तर लागेको कर्फ्यु हटाइएको छ । त्यो पनि केही इलाकामा आंशिक रुपमा । किन भने आज (सोमबार) इद हो । इस्लाम धर्म मान्नेको ठूलो पर्व जुन हर्सोल्लासका साथ मनाउने गरिन्छ । यही तनाव र अन्योलबीच यहाँका जनताले इद मनाइरहेका छन् । यही इदकै कारण त्यहाँ जारी कर्फ्यु आंशिक हटाइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उसो त आइतबार साँझ पनि आंशिक रुपमा कर्फ्यु हटाइँदा जनजीवन केही खुकुलो बनेको थियो ।
भारत प्रशासित काश्मीरमा कर्फयु हटाइएसँगै सडकमा सर्वसाधारणको सामान्य चहलपहल बढेको छ । बीबीसीका अनुसार कुनै स्थानमा त ट्राफिक जाम पनि देखिएको थियो ।
गत शुक्रबार श्रीनगरको सौरा इलाकामा नमाज पढेपछि विरोध प्रदर्शन भएको थियो । त्यहाँ गोली प्रहार पनि भएको बताइए पनि भारत सरकारले भने अवस्था नियन्त्रणमै रहेको र कहीं पनि ठूलो विरोध नभएको जनाएको छ ।
प्रहरीले भने एउटा गोली नचलाइएको दाबी गरेको छ । यहाँ (माथिको भिडियोमा भने) गोली चलेको आवाज भने प्रस्ट सुनिन्छ । यसले पनि यहाँको जनजीवन त्रसित रहेको बुझ्न सकिन्छ । यहाँको मोबाइल तथा इन्टरनेट सेवा भने अझै अवरुद्ध छन् । यसर्थ आपसमा सञ्चारविच्छेदको अवस्था छ । -एजेन्सीको सहयोगमा
तस्बिर र भिडियो स्रोत बीबीसी