सेतो बादलबीच हुँदै विमान तल झर्छ । झ्यालबाट जहाँसम्म हेर्न सकिन्छ जताततै हरियाली देखिन्छ । रुखले घेरिएका पहाडी घर, हरिया खेतका फाँट । खाली सडक । आकाशबाट हेर्दा सबै शान्त लाग्छ । मात्र शान्त ।
तर, विमानभित्र भने बेचैन अनुहार देख्न सकिन्छ । जसलाई थाहै छैन कि जमिनको अवस्था कस्तो छ । दिल्लीबाट उडेको विमानले श्रीनगरको जमिन छुने तयारी गर्दै छ । परिवारसँग भेटका लागि आतुर रहेका यात्रु सवा घण्टाको यो यात्रा पनि लामो भएको थियो ।
'मेरो ह्यान्ड ब्यागमा दाल छ, खानेकुरा छन्, औषधि छन् । कुनै उपहार छैनन्, मैले साथमा खानेकुराका सामग्री मात्र ल्याएर आएको हुँ । म कसैसँग कुराकानी गर्न सक्दैन । न आफ्नी पत्नीसँग, न त बच्चासँग, न आमाबाबुसँग, न काकासँग, न पूरै काश्मीरका अरु कसैसँग ।'
'साँचौ भनुँ म इद मनाउन जान लागेको होइन । म यो हेर्न जाँदै छु कि मेरो घरपरिवार सबै ठीक छन् या छैनन् । उनीहरुलाई भन्न जाँदै छु कि म ठीक छु यहाँ किन भने सञ्चार पूर्णरुपमा खतम भइसकेको छ । यस्तो लागिरहेको छ कि आजको यो संसार पनि ढुंगेयुग जस्तै लागिरहेको छ ।'
दिमाग निकै तनावमा छ । जब तनाव हुन्छ त्यसपछि आफ्नो मस्तिष्कमा पनि निकै खराब कुराको सम्झना आउँछ । सकभर सबै ठीक होस् । तर हामीलाई केही थाहा छैन कि त्यहाँको अवस्था कस्तो होला । हामी आफ्नो परिवारका बारेमा जान्न हतारमा छौं, उत्सुक छौं ।'
'मैले हजारपटक फोन डायल गरिसकेको छु, जुन नम्बर डायल गर्छु सबै स्विच्ड अफ । सबैको नम्बर त बन्न नहुनुपर्ने होइन र ? केही न केही भने गलत भइरहेको होला । मस्तिष्कमा यही चलिरहेको छ ।'
आसिफले दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट श्रीनगरका लागि उडान भरेका छन् । दिल्लीको एक निजी बैंकमा काम गर्ने आसिफ पछिल्ला धेरै दिनदेखि न राम्ररी खाएका छन् न त सुतेका नै छन् । थकान र तनाव उनको अनुहारमा प्रस्ट देख्न सकिन्छ । दिल्लीबाट श्रीनगरका लागि उडान भर्नेको अनुहारलाई ध्यान दिएर हेर्ने हो भने सबैमा डर र तनाव प्रस्ट देख्न सकिन्छ ।
भारत सरकारले गत सोमबार संविधानको धारा ३७० खारेज गरेको थियो । यो सँगै भारत प्रशासित काश्मीरको विशेष राज्यको मान्यतालाई अन्त्य गरेको थियो । भारत सरकारले यो प्रदेशलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गरिदियो ।
तर, यो घोषणाअघि जम्मु-काश्मीर क्षेत्रको सबै सञ्चारसेवा विच्छेद गरिएको थियो । इन्टरनेट अवरुद्ध गरिएको थियो । साथै मोबाइल र ल्यान्डलाई फोन सेवा पनि बन्द गरिएको बीबीसीले उल्लेख गरेको छ ।
हरियाणाको एक मेडिकल कलेजमा अध्ययन गर्ने ४ काश्मीरी छात्रलाई आउने महिनामा हुने परीक्षाको तयारी गर्नु पर्ने थियो । तर उनीहरु अचानक घर फर्कंदै छन् । उनीहरु भन्छन्, 'परीक्षा हुने अन्तिम चरणमा थियो, हामीलाई तयारीमै केन्द्रित हुनुपर्ने थियो, तर सञ्चार विच्छेद भइहाल्यो, परिवासँग सम्पर्क हुन सकेन । हामीहरु मानसिक रूपमा निकै विक्षिप्त भयो, घरको चिन्ता पनि बढेर गयो । न कक्षामा पढ्न सकेका थियौं, न अरु कुनै काम । हामीहरु इद मनाउँन गइरहेका होइनौं । परिवारको अवस्थाबारे बुझ्न जान लागेका हौं ।'
उनी भन्छन्, 'भारतीय मिडियाले काश्मीरको अवस्थाबारे कुनै पनि जानकारी हामीलाई दिएन । न सरकारका तर्फबाट कुनै जानकारी नै आयो । हामीलाई जानकारी छैन खासमा त्यहाँ के हुँदै छ । -बीबीसी