जम्मु-काश्मीरको विषयमा भारत र पाकिस्तानबीच तनाव चर्किएका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम रूपमा संयमित हुन आग्रह गरेका छन् ।
उनले भारत र पाकिस्तानले सन् १९७२ मा काश्मीर विवाद समाधान गर्न गरेको सिमला सहमतिको स्मरण गराएका छन् । भारत पनि जम्मू-काश्मीरबारे विद्यमान विवाद 'सिमला सहमति' अनुसार नै गर्न इच्छुक भएको बताइन्छ ।
दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भाजपाका नेता नरेन्द्र मोदी नेतृत्वको सरकारले यही साता जम्मु-काश्मीर राज्यलाई दिएको विशेष संवैधानिक मान्यता अन्त्य गरिदिएको थियो ।
त्यसप्रति पाकिस्तानले गम्भीर आपत्ति व्यक्त गर्दै भारतसँगको कूटनीतिक सम्बन्ध घटुवा गर्ने र द्विपक्षीय व्यापार निलम्बनको घोषणा गर्यो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको कदमविरुद्ध संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्मा तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने घोषणा गरिसकेका छन् । तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राष्ट्रलाई सम्बोधन गर्दै आफ्नो सरकारको निर्णयको प्रतिरक्षा गरेका छन् ।
के भने महासचिवले ?
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले एउटा विज्ञप्ति जारी गर्दै सो क्षेत्रमा संयुक्त राष्ट्रसंघको स्थिति संयुक्त राष्ट्रसंघको बडापत्र र सुरक्षा परिषद्का प्रस्तावबाट निर्देशित हुने बताएका छन् ।
उक्त विज्ञप्तिमा सन् १९७२ मा गरिएको सहमतिको प्रसंग उल्लेख भएको छ । भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानका राष्ट्रपति जुल्फिकर अली भुट्टोले सन् १९७२ जुलाई २ मा गरेको सहमतिमा जम्मु-काश्मीरबारे 'अन्तिम स्थितिको निर्धारण संयुक्त राष्ट्रको बडापत्रलाई विचार गरेर शान्तिपूर्ण तरिकाले गरिनेछ' उल्लेख गरिएको छ ।
तर भारतले अहिले काश्मीरबारे चालिएको कदम आफ्नो आन्तरिक विषय भएको तर्क गरेको छ । -बीबीसी