भारतको कश्मीर प्रशासनले अमरनाथ यात्री र पर्यटकलाई तत्काल राज्य छोड्न निर्देशन दिएपछि त्यहाँ मानिसमा त्रास सिर्जना भएको छ।
स्थानीयले करिब २ महिनासम्म बन्दजस्तो अवस्था सिर्जना हुनसक्ने भन्दै दैनिक आवश्यकताका सामान, खाद्यान्न, पेट्रोलियम पदार्थ जुटाउन थालेका छन्। राज्यबाट बाहिर जानेहरुका कारण विमानस्थलमा भीड भएको छ भने एटीएममा नगद सकिएपछि हाहाकारजस्तै भएको छ।
थप सुरक्षाबलको तैनाथीले तनावमा रहेका बेला प्रशासनले अमरनाथ यात्री र पर्यटकलाई राज्य छाड्न एडभाइजरी जारी गरेपछि कश्मीरमा त्रासको माहौल सिर्जना भएको हो।
स्थानीय राजनीतिक दल तथा विपक्षी कांग्रेसले ९० को दशकमा पनि यस्तो त्रासको माहौल नभएको भन्दै यस्तो किन भएको हो भनेर प्रश्न उठाएका छन् । शनिबार पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले पत्रकारसँँग कुरा गर्दै कश्मीरमा यसअघि कहिल्यै नदेखिएको त्रास देखिएको बताइन्। अर्का पूर्व मुख्यमन्त्री एवं नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाहले शनिबार पत्रकार सम्मेलन गर्दै कश्मीरमा यस्तो तनावको स्थिति किन भयो भनेर केन्द्र सरकारले जवाफ दिनुपर्ने बताए। कांग्रेस नेताहरुले पनि अमरनाथ यात्रालाई रोक्न दिइएको निर्देशनको निन्दा गरेका छन्।
कश्मीरमा भएका कुनै पनि हिंसाका कारण २० वर्षयता अमरनाथ यात्रा रोकिएको छैन। ९० को दशकमा हरकत उल अन्सार नामको संगठनले अमरनाथ यात्राका यात्रीलाई आक्रमण गर्ने धम्की दिएको थियो, त्यसपछि २००८, २०१६ र २०१८ मा प्रदर्शनका दौरान पनि यात्रामा अवरोध आएको थिएन।