दुबईका शासक शेख मोहम्मद अल मकतुमकि पत्नी राजकुमारी हया बिंत अल हुसेन अहिले भागेर लन्डन पुगेकी छन् । उनी त्यहाँ लुकेर बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आफ्ना पतिलाई छोडेर हिँडेपछि उनले सुरक्षा खतरा महसुस गरेको बताइएको छ । ६९ वर्षीय शेख मोहम्मदले इन्स्ट्राग्राममा एक कविता पोस्ट गरेर कुनै अज्ञात महिलाले धोखा दिएको र विश्वासघात गरेको आरोप लगाएका छन् ।
अर्बपति शेख मोहम्मद बेलायतमा रेसकोर्सका मालिक हुन् भने उनले बेलायती महारानीसँग रेसकोर्समा गफ गर्दै गरेको देखिनुलाई सामान्य मानिन्छ । जोर्डनमा पैदा भएकी बेलायतमा पढेकी ४५ वर्षिया हयाले २००४ मा शेख मोहम्मदसँग विवाह गरेकी थिइन् । उनी शेखकी छैटौं पत्नी हुन् । शेखका विभिन्न पत्नीमार्फत २३ बच्चा भएको मानिन्छ ।
राजकुमारी हया दुबईबाट भागेर जर्मनी पुगेकी थिइन् । त्यहाँ उनले शरण मागेकी थिइन् । तर त्यसपछि उनी बेलायत गइन् । उनी अहिले बेलायतको केन्द्रमा रहेको केनसिंगटन प्यालेस गार्डेनमा लगभग ७ सय करोड रुपैयाँको आवासमा रहेर उच्च अदालतमा कानुनी लडाइँको तयारी गरिरहेकी छन् ।
यद्यपि उनी किन दुबईबाट भागिन् र उनलाई को बाट ज्यानको खतरा छ भन्ने कुरा नखुलेको बीबीसीले उल्लेख गरेको छ । उनीनिकट स्रोतका अनुसार यो वर्ष दुबई फर्केकी शेखकी छोरी शेखा लतीफाका बारेमा रहस्यपूर्ण कुरा उनले चाल पाएकी थिइन् । शेखा एक फ्रान्सेली व्यक्तिको सहयोगमा डुंगाबाटै भागेकी थिइन् । तर उनलाई भारतको तटमा हतियार रक्षकहरुले हिरासतमा लिएर दुबई फर्काइदिएका थिए । यो विषयमा राजकुमारी हया र आयरल्यान्डका पूर्वराष्ट्रपति मोरिस रोबिन्सनले दुबई प्रशासनको पक्ष लिएका थिए । दुबईको प्रशासनले लतिफा उत्पीडनको सिकार भएको हुन सक्ने र स्वदेश आएपछि सुरक्षित रहेको जनाएको थियो ।
शेखको परिवारबारे धेरै गोप्य कुरा राजकुमारीलाई थाहा भएको र उनी असुरक्षित महसुस गर्न थालेको बताइएको छ । लन्डनस्थित युएईको दूतावासले भने यो निजी मामिला भन्दै टिप्पणी गर्न अस्वीकार गरेको छ । यूएईका शेखले राजकुमारी फिर्ता माग्ने सम्भावना पनि रहेको जनाइएको छ किनकि यूएई र बेलायतबीच राम्रो सम्बन्ध मानिन्छ ।
यसैगरी राजकुमारीलाई फिर्ता गरेको अवस्थामा यूएईको जोर्डनसँगको सम्बन्धमा पनि अप्ठ्यारो आउन सक्ने जनाइएको छ । किनकि राजकुमारी हया जोर्डनका शासक शाह अब्दुल्लाहकी सौतेनी बहिनी पनि हुन् । यूएईमा करिब साढे २ लाख मानिस यूएईमा काम गरिरहेका छन् जसले गर्दा जोर्डनसँग अहिले शत्रुको व्यवहार गर्ने अवस्था पनि नहुने बताइने गरेको छ ।