लिबियाको राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको एक आप्रवासी बन्दीगृहमा हवाई हमला भएको छ । हमलामा कम्तीमा ४० जना मारिएको हुनसक्ने अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार आक्रमणमा ८० जना घाइते भएका छन् ।
मारिनेमध्ये धेरैजसो अफ्रिकी आप्रवासी रहेको बताइएको छ । पछिल्ला वर्षमा युरोप जान खोज्ने आप्रवासीका लागि लिबिया एउटा मुख्य प्रस्थानविन्दु बनेको छ ।
लिबियामा लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्यूत भएपछि हिंसा र विभाजनबाट प्रताडित छ । आपतकालीन सेवासम्बन्धी निकायका प्रवक्ता ओसामा अलीले समाचार संस्था एएफपीलाई बताए अनुसार प्रत्यक्ष हमला हुँदा १२० आप्रवासी बन्द कोठाभित्र थिए ।
अहिलेसम्मको मृतकको सङ्ख्या 'प्रारम्भिक' भएकाले थप मानिस मारिएका हुनसक्ने ती प्रवक्ताले बताएको बीबीसीमा समाचार छ । संयुक्त राष्ट्रसङ्घले सघाइरहेको प्रधानमन्त्री फयेज अल सेरा नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले बुधबारको हमलाका लागि स्वघोषित लिबियन न्यासनल आर्मी (एलएनए) लाई दोष लगाएको छ ।
युरोप जाने प्रयासमा रहेका हजारौं त्यस्ता आप्रवासीलाई सरकारद्वारा सञ्चालित त्यस्ता बन्दीगृहमा राखिएका छन् । धेरैजसो बन्दीगृह द्वन्द्वप्रभावित क्षेत्रनजिकै छन् । शिविरको अवस्थाबारे मानवअधिकारवादी समूहहरुले कैयौंपटक आलोचना गरेका छन् । उनीहरुले शिविरको अवस्था सुधार्नुपर्ने बताउँदै आएका छन् ।