युरोपेली आयोगको प्रमुख (अध्यक्ष) मा पहिलोपटक महिला सिफारिस भएकी छन् । सिफारिस हुनेमा उर्सुला भोन डेर लेयेन छन् । उनी जर्मन चान्सलर एन्जेला मर्केलको निकट मानिनुका साथै जर्मनीको रक्षामन्त्रीसमेत हुन् । आयोग युरोपेली संघ (ईयू) को प्रमुख कार्यकारी निकाय हो ।
ब्रसेल्समा जन्मिएकी लेयेन १३ वर्ष हुँदा परिवारसहित जर्मनी गएकी हुन् । राजनीतिमा प्रवेशअघि उनले लन्डनमा अर्थशास्त्र र ह्यानओभरमा मेडिसिन विषयमा अध्ययन गरेकी थिइन् ।
उनी सन् २००५ देखि मर्केलको कन्जरभेटिभ क्रिस्चियन डेमोक्र्याट (सीडीयू) पार्टीको सदस्य थिइन् । उनी अध्यक्षमा नियुक्त भएसँगै ६० वर्षको अवधिमा यो पदमा पुग्ने पहिलो महिलासमेत बन्नेछिन् ।
यसैगरी, आयोगका अन्य केही पदमा पनि सिफारिस भएका छन् । ती सिफारिसको अनुमोदन भने युरोपेली संसदले गर्नुपर्ने बीबीसीले समाचारमा जनाएको छ ।