अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित भएको बताएका छन् ।
ट्रम्पले आफूले ई. जीन क्यारोललाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन त्यस्तो आरोप लगाएको बताए ।
लेखिका क्यारोलले सो समयमा एक साथीले अदालतमा उक्त मुद्दा जित्न नसकिने सुझाव दिएका कारण प्रहरीमा जाहेरी नदिएको बताएकी छन् ।
उनको लेख न्युयोर्क म्यागजिनमा शुक्रबार प्रकाशित भएको भन्दै बीबीसीले लेखेको छ । ट्रम्पले आफूमाथि एक दर्जन बढी महिलाले लगाएको बलात्कारको आरोपहरू अस्वीकार गरिसकेका छन् ।
ई. जीन क्यारोलको आरोप
लेखका क्यारोलले सन् १९९५ को अन्त्य वा सन् १९९६ को सुरुतिर बर्गडर्फ गुडम्यानका ट्रम्पलाई भेटेको र उनलाई घरजग्गा व्यापारीका रूपमा चिनेको बताएकी छन् ।
उनका अनुसार त्यसबेला ट्रम्पले आफू 'एक केटी'को लागि उपहार किन्न आएको बताएका थिए । उनले ट्रम्पले आफूलाई टेलिभिजनमा देखेको बताएको र उनीहरूले एकअर्कालाई भित्रीवस्त्र किन्न उक्साउँदै जिस्किएको लेखेकी छन् ।
उनीहरू लुगा फेर्ने कोठामा छिरेको र त्यहाँ आफू बलात्कृत भएको उनको आरोप छ । त्यो समयमा ट्रम्प र क्यारोल करिब ५० वर्षका थिए र ट्रम्प मार्ला म्यापलसँग विवाहित थिए ।
क्यारोलले आफूले सो घटना २ साथीलाई सुनाएको र एकजनाले प्रहरीमा जान सुझाव दिएको बताएकी छन् । तर उनका अनुसार अर्को साथीले कसैलाई नभन्न भन्दै उनलाई भनेकी थिइन्, 'बिर्सिदेऊ ! उसका २ सय वकिल छन् । तिमीले जित्दैनौं ।'
ट्रम्पमाथिको आरोप क्यारोलले लेखेका छवटा आक्रमणका आरोपहरू मध्येको एक हो । क्यारोलले ट्रम्प त्यस्तो गर्ने अन्तिम पुरुष भएको र त्यो घटनापछि आफूले कसैसँग यौनसम्पर्क नराखेको भन्दै लेख टुङ्ग्याएकी छन् ।
ट्रम्पको जवाफ
"मैले यो मानिसलाई आफ्नो जीवनका कहिल्यै भेटेको छैन," अमेरिकी राष्ट्रपतिले एक विज्ञप्तिमा भनेका छन् । "उनले आफ्नो नयाँ पुस्तक बेच्न चाहेकी हुन्- यसैबाट उनको उद्देश्य स्पष्ट देखिन्छ । यो उपन्यासको रूपमा बिक्री हुनुपर्छ ।"
ट्रम्पले डेमोक्र्याटिक पार्टीले क्यारोल वा न्युयोर्क म्यागाजिनसँग सम्बन्ध बढाएको जानकारी भए ह्वाइट हाउसलाई सूचना दिन भनेका छन् । उनले पत्रिकालाई पनि मिथ्या समाचारसँग खेलेको आरोप लगाएका छन् ।
ट्रम्पको भनाइ छ, "कुनै प्रमाण नभएको अवस्थामा यस्तो कुरामा विश्वास गर्नु मानिसहरूका लागि दु:खद कुरा हो ।"