अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हमला गर्न बिहीबार स्वीकृति दिए पनि पछि तत्काल आक्रमण नगर्न आदेश दिएको समाचारपत्रहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
द न्युयोर्क टाइम्सले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका केही ठाउँलाई निशाना बनाउने योजना बनाएको भनेको छ ।
योजना सुरुवाती स्तरमै हुँदा ट्रम्पले अमेरिकी सेनालाई निराश बनाएको समाचारहरूमा उल्लेख छ । पत्रिकाका अनुसार सो आक्रमण इरानले अमेरिकी ड्रोन खसालेको बदलामा गर्न लागिएको थियो । इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरी अमेरिकी सेनाको एउटा ड्रोन बिहीबार बिहान खसालिदिएको थियो ।
इरानले आफ्नो आकाशमा आएकाले खसालिएको बताएको छ भने अमेरिकाले उक्त ड्रोन अन्तर्राष्ट्रिय आकाशमै रहेको बेला खसालिएको आरोप लगाएको छ ।
अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो ।
न्युयोर्क टाइम्सले के लेख्यो ?
न्युयोर्क टाइम्सले सबैभन्दा पहिले सो योजनाबारे बिहीबार राति समाचार प्रकाशित गरेको थियो । पछि अन्य अमेरिकी पत्रिकाहरूले पनि आफैँले तथ्य सङ्कलन गरेर त्यही कुरा लेखे । न्युयोर्क टाइम्सका अनुसार बिहीबार बेलुकी ७ बजेसम्म पनि अमेरिकी सेना र कूटनीतिज्ञहरू इरानका राडार र क्षेप्यास्त्र ब्याट्रीहरू भएका स्थानमा आक्रमण गरिने अपेक्षामा थिए ।
न्युयोर्क टाइम्सले लेखेको छ, "हवाइजहाजहरू उडिरहेका थिए, जहाजहरू आवश्यक स्थानमा थिए तर पछाडि हट्ने आदेश आएकाले कुनै क्षेप्यास्त्र प्रहार भएन ।"
हमला इरानी नागरिकलाई क्षति नपुगोस् भनेर शुक्रबार बिहानै गर्ने योजना गरिएको थियो । हमला फेरि हुने वा नहुने कुरा स्पष्ट छैन । ह्वाइट हाउस र रक्षा मन्त्रालय रहेको पेन्टागनले समाचारमाथि कुनै प्रतिक्रिया दिएका छैनन् ।
ड्रोनलाई के भयो ?
स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानको इस्लामिक रिभोलुसनरी गार्डस् कोर (आइआरजिसी) ले बिहीवार सबेरै खसालेको हो ।
मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ। उसले सो ड्रोनका टुक्रा आफ्नो समुद्री क्षेत्रबाट बटुलेको पनि बताएको छ । अमेरिकाले बिहीबारै अमेरिकी वायुसेवाहरूलाई इरानी आकाशको नजिकै जहाज नउडाउन आकस्मिक निर्देशन दिएको छ ।
के भने ट्रम्पले ?
राष्ट्रपति ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन् । ड्रोन खसाल्ने काम 'सायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने' उनको भनाइ थियो । तर उनले त्यो काम ठूलो गल्ती भएको दोहोर्या एका छन्। ट्रम्पले उक्त ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको दोहोर्याुएका छन् ।