इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ । इजिप्टको सरकारी टेलिभिजनका अनुसार पूर्वराष्ट्रपति मोर्सीको अदालत परिसरमै निधन भएको हो । २०१३ मा सेनाले सत्ता कब्जा गरेपछि उनी सत्ताबाट बाहिरिएका थिए ।
समाचारहरुका अनुसार अदालतको सुनुवाइपछि उनी बेहोस भएका थिए र उनको तत्काल निधन भएको थियो । ६७ वर्षीय मोर्सीमाथि जासुसी गरेको आरोप लागेको थियो । उनको कार्यकाल १ वर्ष पुगेसँगै इजिप्टमा जनआन्दोलन सुरु भएको थियो । त्यसपछि मोर्सीलाई हिरासतमा लगिएको थियो ।
पछि अधिकारीहरुले उनको र मुस्लिम ब्रदरहुडका समर्थकविरुद्धको अभियान सुरु गरेका थिए ।
मोर्सीसँग सम्बन्धित विषयको राजधानी कायरोको अदालतमा सुनुवाइ भइरहेको थियो । उनीमथि प्यालेस्टाइनी समूह हमाससँग जोडिएको सम्पर्कसँगै जासुसी गरेको आरोप लागेको थियो ।
उनलाई अदालतमा एक पिँजडामा ल्याइएको बीबीसीले उल्लेख गरेको छ । अदालतमा मोर्सीको सम्बोधनलगत्तै बेहोस भएका थिए । इजिप्टका सरकारी वकिलका अनुसार मेडिकल जाँच गर्दा पनि मोर्सीको शरीरमा कुनै चोट लागेको छैन ।
जेलमा रहेका मोर्सीको स्वास्थ्यबारे धेरै समयअघिदेखि नै चिन्ता जनाइएको थियो । अघिल्लो वर्षको अक्टोबरमा उनका सानो छोरा अब्दुल्लाले एपी समाचार एजेन्सीसँग आफ्ना पितालाई सबैभन्दा अलग राखिएको र उनको स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको बताएका थिए । अब्दुल्लाका अनुसार मोर्सीलाई उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।